Aamsanchar

पर्यटकको नयाँ आकर्षण समर वाटरफल

Author Image
बिहिवार, कार्तिक ११, २०७३

पोखरा:

summer-waterfall-_pokhara-581199cda13640.00392526

पर्यटकीय सहर पोखराको समर वाटरफल पर्यटकका लागि नयाँ आकर्षण बनेको छ । पोखराको बरौटाफाँटस्थित फेवा पावर हाउस नजिकै फुस्रो खोला किनारमा रहेको समर वाटरफल हालै निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । यहाँ निर्मित कास्कीको अग्लो झोलुङ्गे पुल आन्तरिक र वाह्य पर्यटककालागि नयाँ गन्तव्य बन्दै गएको छ ।

पर्यटकहरु कास्कीकै अग्लो झोलुङ्गे पुलबाट अन्नपूर्ण, धौलागिरी हिमाल र फुस्रो खोलाको मनोरम दृश्यसहित सुन्दर पानीको झरना अवलोकन गर्ने गर्दछन् । पदयात्राको अनुभवसहित फोक्सिङ गाउँको जनजीवन अवलोकन गर्दै फुस्रो खोला किनारको समर वाटरफलमा पुगेर पौडी खेल्दै पर्यटक रमाईरहेका हुन्छन् ।

पोखरामा आउँने पर्यटकको स्टेलाई बढाउन समर वाटरफल र झोलुंगेपुल नयाँ गन्तब्य बन्दै गएको यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा लागेका पर्यटन व्यवसायी सुमन भट्राईले बताए । डुंगामा चडेर फेवातालपारी हुदै विश्व शान्ती स्तुपा, पाताले छाँगो, गुप्तेश्वर गुफा, तिब्बतीयन क्याम्प, बिरौटा हुँदै कास्कीकै अग्लो झोलुङ्गेपुल, फोक्सिङ गाउँवाट झरेर समर वाटरफलसम्मको एकदिनको प्याकेज पर्यटकको रोजाईमा पर्दै गएको उनले सुनाए ।

यो पदयात्रा पर्यटकले नयाँ अनुभव लिनसक्ने पर्यटकीय गन्तब्यको रूपमा परिचित हुँदै गएको उनले बताए । पोखरामा पर्यटकको बसाइलाई लम्ब्याउन नयाँ पर्यटकीय गन्तब्य नभएको परिपेक्षमा छहरा र झुलुंगेपुल पर्यटकमाझ आकर्षण हुँदै गएको हो ।

आन्तरिक पर्यटकमाझ पावरहाउसको नामले परिचित यो झरना समर वाटरफलका रूपमा आकर्षण बढ्दै गएको छ । फेवातालको पानी नहर हुँदै बिरौटा फाँट पुगि भूमिगत भइ निस्केको यो झरना करिब तीनसय मिटर माथीवाट खस्दछ । वर्षायाम सुरु भएसंगै असारको पहिला हप्तादेखि देख्न सकिने यो झरना कात्तिक महिनासम्म रहन्छ । वर्षायाम सुरु भएसंगै सुरु हुने यो झरना ५ महिनासम्म रहने भएकाले यसलाई समर वाटरफल नामाकरण गरिएको भट्टराईले सुनाए ।

पर्यटकीय सिजनको एक महिना अवधिमा एक सयभन्दा बढी विदेशी पर्यटक शान्ती स्तुप, पातलेछाँगो, गुप्तेश्वर गुफा हुदै झोलुंगेपुल र समर वाटरफल प्याकेज प्रोग्राम बनाएर घुमाएको अनुभव उनले सुनाए । पछिल्लो समयमा यो संख्या बढ्दै गएको उनले बताए ।

सुन्दर झरनामा रमाउन पाउँदा निकै रमाइलो लागेको झरनामा पौडी खेलेर रमाइरहेकी अमेरिकाकी पर्यटक जेसीकाले बताइन् । पोखरा बजारबाट यती नजिकको दुरीमा ग्रामीण परिवेसको आनन्द लिदै पदयात्राको थकान मेटाउँन यो झरना निकै उत्कृष्ट भएको अमेरिकाकै अर्कि पर्यटक लिवीयाले बताइन् । झरनाको अनुभवका लागि साथीहरूलाई सिफारिस गर्ने उनले बताइन् ।

समर वाटरफल र कास्कीकै अग्लो झोलुंगे पुललाई पर्यटकीय गन्तब्यको रूपमा विकास गर्न पहल गर्ने पोखरा पर्यटन परिषदका अध्यक्ष सोम थापाले बताए । यस रुटलाई ताल, मन्दिर, स्तुपा, गुफा, फोक्सीङ गाउँ र छहराको अवलोकन गर्नेगरी नयाँ पर्यटकीय गन्तब्यको विकास गर्नुपर्ने स्थानीय बताउँछन् ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर