Aamsanchar

रामको जन्मभूमि अयोध्यापुरीको अन्वेषण गर्न एक करोड रुपैयाँ बजेट विनियोजन

Author Image
मङ्गलवार, असार १, २०७८

 

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष चासो रहेको चितवनको माडी नगरपालिकामा अयोध्यापुरीको अध्ययन, अन्वेषण र संरक्षणको काम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयले पुरातत्व विभागमार्फत खर्च गर्ने गरी सो रकम विनियोजन गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मभूमिका रुपमा यो स्थान रहेको बताएपछि माडी चर्चामा आएको थियो । सोही अनुसार उनले त्यहाँ राम, सीता र लक्ष्मणका मूर्ति समेत स्थापना गराइसकेका छन् ।

तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालसहितको टोलीले गत रामनवमीको दिन प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बनाउन लगाएका राम, सीता र लक्ष्मणका मूर्ति माडीमा पुर्याइ स्थापना गरेका थिए । आगामी आर्थिक वर्षको बजेट भाषणको क्रममा अर्थमन्त्री विष्णु पौडेलले अयोध्यापुरीका लागि रकम विनियोजन गरेको जानकारी गराएका थिए ।

माडीमा संघीय सरकारबाहेक स्थानीय तहबाट कार्यान्वयन हुने गरी थप बजेट समेत विनियोजन भएको छ । पर्यटन मन्त्रालयका अनुसार यहाँ पाँच पाण्डव कुण्ड संरक्षण गर्न ८ लाख रुपैयाँ स्थानीय तहबाट खर्च हुने गरी विनियोजन भएको छ । सोही नगरपालिकामा निर्माणाधीन शनि मन्दिरको निर्माण कार्य सम्पन्न गराउन र प्राकृतिक तालको संरक्षण गर्न समेत १० लाख रुपैयाँ विनियोजन भएको छ । यो स्थानीय तहमा हस्तान्तरण भएको योजना हो ।

पुरातात्विक स्थल संरक्षणमा ४८ करोड बजेट

आगामी वर्ष पुरातत्व विभागमार्फत देशभरका पुरातात्विक स्थलको संरक्षणमा मात्र ४८ करोड रुपैयाँ खर्च गर्ने गरी बजेट छुट्याइएको छ । त्यसमध्ये एक करोड अयोध्यापुरीले पाएको हो । मन्त्रालयका अनुसार आगामी वर्ष सांस्कृतिक स्थलको संरक्षणतर्फ मठमन्दिर, पाटी–पौवामा पूर्वाधार निर्माण तथा संरक्षणमा बढी रकम छुट्याइएको छ । संघीय सरकारबाट कार्यान्वयन हुने रकमको न्यूनतम सीमा ५ लाख राखिएको छ ।

प्यूठानको स्वर्गद्वारी मन्दिरमा यज्ञशाला निर्माण गर्न १ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ । धनुषाको जानकी मन्दिर संरक्षणमा समेत संघीय सरकारले बजेट राखेको छ । यो रकम भूकम्पपछिको पुनर्निर्माणमा छुट्याइएको रकमबाहेकको हो । पुरातत्व विभागको सहभागितामा काम भए पनि पुनर्निर्माणको बजेट भने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत आउँछ ।

से–फोक्सुण्डोलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने

पुरातत्व विभागमार्फत सरकारले आगामी आर्थिक वर्षमा से–फोक्सुण्डो क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने भएको छ । यो क्षेत्रलाई मिश्रित (प्राकृतिक तथा सांस्कृतिक) विश्व सम्पदा सूचीमा राख्न आवश्यक पूर्वाधार तयार गर्न अध्ययन, अनुसन्धान तथा अभिलेखन शुरु गर्ने मन्त्रालयको तयारी छ । सो प्रयोजनका लागि मात्र मन्त्रालयले आगामी आवमा १० लाख रुपैयाँ विनियोजन गरेको छ ।

पर्यटकीय पूर्वाधारमा १ अर्ब २४ करोड खर्च गरिने

सरकारले आगामी आर्थिक वर्षमा सांस्कृतिक सम्पदा बाहेकका पर्यटन पूर्वाधार निर्माण तथा संरक्षणको काममा कुल १ अर्ब २४ करोड खर्च गर्ने भएको छ । यो रकम पर्यटन विभागमार्फत खर्च हुनेछ । पर्यटन पूर्वाधार आयोजना नाम दिइएको यस कार्यक्रममार्फत पदयात्रामार्ग निर्माण तथा स्तरोन्नती गर्न बजेट विनियोजन गरिएको छ ।

यसै बजेटबाट सात प्रदेशमा निर्माण हुने एकरएक पर्यटकीय पूर्वाधारका लागि कुल ६ करोड रुपैयाँ बजेट जाने छ । हिमाल आरोहणमा जीपीएस ट्रयाकिङ सिस्टम जडान गर्न आगामी आवमा २० लाख रुपैयाँ बजेट छुट्याइएको छ । नारायणी नदी किनारमा लाइटिङसहितको फुट टे«ल बनाउन २ करोड बजेट विनियोजन भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर