Aamsanchar

चिकित्सा शिक्षा आयोगले प्रधानमन्त्रीको निर्देशन पालना गरेन, एक सातामै बुझाउनु पर्ने बीएण्डसी अनुगमन प्रतिवेदन एक महिनामा पनि बुझाएन

Author Image
शनिवार, असार २६, २०७८

काठमाडौँ। झापास्थित प्रस्तावित बीएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको स्थलगत अनुगमन गर्न चिकित्सा शिक्षा आयोगले पठाएको टोलीले प्रतिवेदन नबुझाउने भएको छ । अनुगमन टोलीको छनौट गर्दा आयोग उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरीले ‘फट्याई’ गरेको भन्दै टोलीले प्रतिवेदन नबुझाउने भएको हो ।

अनुगमन टोलीका संयोजक प्रा.डा. प्रकाशराज पाण्डे र सदस्य रहेका सह प्रा.डा. भोजराज अधिकारीले आयोगलाई लिखित र मौखिक रुपमा प्रतिवेदन बुझाउन नसक्ने जानकारी गराएका छन् ।

गत २२ असारमा बसेको आयोगको कार्यकारी समितिको बैठकमा संयोजक पाण्डेले प्रतिवेदन नबुझाउने भन्दै निस्किएपछि २३ असारमा सदस्य रहेका अधिकारीले पनि लिखित रुपमा आफू अनुगमन टोलीबाट बाहिरिएको र प्रतिवेदन नबुझाउने जानकारी गराएका छन् ।

गत २८ जेठमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको आयोगको सातौं बैठकले बीएण्डसीको पूर्वाधार लगायतको अनुगमन गरी सम्वन्धन दिन योग्य छ कि छैन् ? भन्दै सात दिन भित्र प्रतिवेदन बुझाउने गरी विज्ञ टोली गठन गरी स्थलगत अनुगमनमा पठाउन निर्देशन दिएको थियो । सोही अनुसार आयोगको कार्यकारीले टोली गठन गरेको थियो ।

सो टोली ढिलो गरी झापा त पुग्यो तर प्रतिवेदन दिने बेलामा संयोजक तथा सदस्यले नसक्ने र नमिल्ने भन्दै बाहिरिएको घोषणा गरेको छन् । उनीहरुले आयोग उपाध्यक्ष गिरीले ‘फट्याई’ गरेको आरोप लगाउन थालेका छन् ।

 

Views: 263

प्रतिक्रिया (०)

सम्बन्धित खबर