Aamsanchar

वीपी प्रतिष्ठान धरानको समस्या समाधान गर्न कार्यदल गठन

Author Image
शुक्रवार, साउन १, २०७८

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न सरकारले प्रधानमन्त्री कार्यालयका वरिष्ठ सचिव बैकुण्ठ अर्याल संयोजक रहेको कार्यदल गठन गरेको छ । प्रतिष्ठानमा कार्यरत चिकित्सक नर्स र विद्यार्थीले प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलन गरेपछि सरकारले आन्दोलनरत पक्षसँग वार्ता र छलफल गरी समस्या समाधान गर्न अर्यालको संयोजकत्वमा ८ सदस्यीय कार्यदल बनाएको हो ।कार्यालयले आजबाट काम गर्ने गरी १५ दिनभित्रमा सरकारलाई प्रतिवेदन बुझाउने प्रधानमन्त्री कार्यालयका सहसचिव एवम् कार्यदलका सदस्यसचिव शङ्कर नेपालले बताए । सदस्य सचिव नेपालका अनुसार प्रतिष्ठान भित्रको समस्याको पहिचानसँगै त्यसका अल्पकालीन र दीर्घकालीन समस्या समाधानका लागि प्रतिवेदन तयार पारी सरकारलाई बुझाउनेछ ।

प्रधानमन्त्री एवम् कुलपति कार्यालयद्वारा बिहीबार सचिव अर्यालको अध्यक्षतामा निर्माण गरेको कार्यदलमा स्वास्थ्य मन्त्रालय, कानून मन्त्रालय, प्रधानमन्त्री कार्यालय, महालेखा नियन्त्रकको कार्यालय, सार्बजनिक खरिद अनुगमन र वीपी प्रतिष्ठानका प्रतिनिधि सम्मिलित शक्तिशाली कार्यदल गठन गरेको हो ।

कार्यदलले आजैबाट आफनो काम शुरु गर्ने जनाइएको छ । प्रतिष्ठान संयुक्त संघर्ष समितिका सहसंयोजक डा।विष्णु पोखरेलले समिति गठन भएको आफुले सुने पनि औपचारिक रुपमा भने कुनै जानकारी नआएको बताए । यद्यपि उनले प्रधानमन्त्री कार्यालयका उच्च अधिकारीले सम्पर्क गरेर आफुहरुको मागबारे जानकारी लिएको बताए ।

उनले भने, ‘समिति गठनको कुरा सुन्यौ तर औपचारिक त्यस्तो जानकारी पाएका छैनौ, हाम्रो आन्दोलनको कार्यक्रम जारी छ ।’ प्रतिष्ठानमा चिकित्सक, विद्यार्थी, कर्मचारी तथा नर्सहरुले आन्दोलन थालेको एक महिना बितिसकेको छ । प्रतिष्ठानको बेथिति, आर्थिक अनियमितता एवं भ्रष्टाचार अन्त्यका लागि जारी आन्दोलनको क्रममा असार १५ गते वार्ता भाँडिएको थियो ।

उपकुलपतिले मदिरा पिएर आएको भन्दै वार्ता भाँडिएको भोलिपल्ट चारैजना पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरिएको थियो । त्यसयता, उपकुलपति डा ज्ञानेन्द्र गिरीले २ पटक वार्ताको आह्वान गरेपनि आन्दोलनकारीले कुलपति वा सहकुलपति स्तरबाट गठन भएको उच्चस्तरीय समितिसँग मात्रै वार्ता गर्ने भन्दै अस्वीकार गर्दै आएका छन् ।

संयुक्त संघर्ष समितिले बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउँदै ४८ घण्टाभित्र माग पुरा नभए दैनिक २ घण्टा इमर्जेन्सी, कोभिड अस्पताल र पूर्व निर्धारित परीक्षाबाहेक सबै सेवा बहिष्कार गर्ने अल्टिमेटम दिएका छन् ।

Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर