Aamsanchar

निशेधाज्ञा खुकुलो बनाउँदै झापा प्रशासन, कोरोना संक्रमितको ग्राफ भने उकालो लाग्दै

Author Image
बिहिवार, साउन ७, २०७८

झापा- झापा प्रशासनले निशेधाज्ञा खुकुलो बनाउदै लगेको छ तर कोरोना संक्रमितको ग्राफ भने उकालो लागिरहेको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञालाई थप परिमार्जन गरेको हो । यस अघि भन्दा अझ समय लम्याए र पसल, होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न दिने भएको छ ।शुक्रबारदेखि खाद्यन्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक र हार्डवेयर पसल, निर्माणजन्य सामग्री, इलोक्ट्रोनिक्स, टेलरिङ्ग, लत्ताकपडा, जुत्ताचप्पल, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी, मोटरगाडी शोरुम, प्लास्टिक तथा मेशिनरी पसल विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने छ ।

झापामा पछिल्लो २४ घण्टामा कोरोनाका ३०६ नयाँ संक्रमित थपिएका छन् । पिसीआर परीक्षणमा २०७ जना तथा एन्टिजिन परीक्षणमा थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । बिहीबार थप ६ जनाले ज्यान गुमाए । यसअघि बुधबार थप २५२ जनामा कोरोना पुष्टि भएको थियो । सोही दिन जिल्लामा ४ जना कोरोना संक्रमितकोे ज्यान गएको थियो ।

जिल्लाका ब्यापारिक शहरहरु बिर्तामोड र दमकमा सबैभन्दा बढी संक्रमितहरु देखिन थालेका छन् । २४ घण्टामा दमक र बिर्तामोडमा क्रमशः ९२ र ४९ जना नयाँ संक्रमित थपिए । दमक र बिर्तामोेड पछि कमल गाउँपालिकामा ४५ जना तथा मेचीनगरमा थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । निषेधाज्ञा खुकुलो भएसँगै जिल्लाका अधिकांश स्थानीय तहमा कोरोनाका संक्रमित दैनिक बढी रहेका छन् ।

कोरोना संक्रमणको अवस्था भयावह बनेपछि गाउँपालिका सिल गरेको बुद्धशान्तिमा बिहीबार ६ जनामा संक्रमण्म देखियो । अन्य संक्रमितहरुमा कन्काईमा १९, शिवसताक्षीमा १६, अर्जुनधारामा १५, भद्रपुर र बाह्रदशीमा ८÷८ जना, झापा गाउँपालिकामा ७ जना तथा ठेगाना नखुलेका १ जनामा संक्रमण पुष्टि भएको छ । जिल्लामा कोरोना संक्रमण पछि ज्यान गुमाउनेहरुमा ४ जना जिल्ला बाहिर ठेगाना भएका रहेका छन् भने बुद्धशान्तिका एक महिला तथा अर्जुनधाराका एक पुरुष रहेको कार्यालयले जनाएको छ ।

जिल्ला बाहिरका ज्यान गुमाउनेहरुमा लेटाङका एक पुरुष, मारिङ्देनका एक महिला तथा रोङका एक महिला रहेको कार्यालयले जानकारी दिएको छ । झापामा हालसम्म पिसीआर परीक्षणबाट १६ हजार ४ सय ५५ र एन्टिजिन परीक्षणबाट ३ हजार ४ सय ५१ जनामा नतिजा पोजेटिभ आएको छ । जिल्लामा कोरोना संक्रमणपछि ज्यान गुमाउनेको संख्या ४१७ पुगेको छ । झापामा हाल १ हजार ७ सय ११ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् । बिहीबार २ सय २ जना कोरोनामुक्त बनेका छन् ।

Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर