

काठमाडौं । खोप लागाउन नपाएको भनेर जनगुनासो तिब्र भईरहेको वेला सरकारले दैनिक दुईलाख जनालाई कोरोना विरुद्धको खोप लगाउने योजना अघि सारेको छ ।

प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले यस्तो जानकारी गराएका हुन् । उनले भने सबै नेपाली नागरिकलाई पूर्ण खोप उपलब्ध गराउन पाँच करोड ५० लाख आवश्यक पर्ने बताए । श्रेष्ठले किशोर किशोरीको लागि फाइजर र मोडर्नाको खोप ल्याउने तयारी भइरहेको बताए ।
“नेपालमा पाँच करोड ५० लाख खोप आवश्यक पर्छ,” उनले भने, “पूर्ववर्ती सरकारले ९५ लाख सुनिश्चित गरेको थियो । त्यसमध्ये असार मसान्तसम्म ४२ लाख खोप लगाइएको थियो । हिजोसम्म ७५ लाख खोप लगाइएको छ ।” अहिले दैनिक दुई लाख जनालाई खोप लगाउने योजना रहेको भन्दै असोज मसान्तसम्म एक करोड ८ लाख खोप आउने सुनिश्चित भएको बताए ।

राज्यमन्त्री श्रेष्ठले विगत एक हप्ताको आँकडा हेर्दा संक्रमण बढ्दै गइरहेको बताए । “सक्रिय संक्रमितको संख्या ३८ हजार नाघिसकेको छ । २५ प्रतिशतको हाराहारीमा संक्रमित दर रहेको छ,” उनले भने ।


