Aamsanchar

धानको न्यूनतम मूल्य निर्धारण

Author Image
आइतवार, कार्तिक २८, २०७३

काठमाडौं,

A farmer winnows paddy rice during harvesting in khokana lalitpur  Nepal on Friday, November 4, 2016.  Photo: Keshab Thoker/Nagarik/republica

सरकारले धानको न्यूनतम मूल्य निर्धारण गरेको छ। यस वर्ष फलेको धान बजारमा बिक्री नभएमा किसानले मोटा धान किलोमा २० रुपैयाँ ७० पैसा र मध्यम धान किलोको २२ रुपैयाँ ३० पैसा पाउने सुनिश्चित भएको छ।

सरकारले यसैसाता तोकेको मूल्यअनुसार मोटा धानको मूल्य एक क्विन्टल (सय किलो) को दुई हजार ७० रुपैयाँ, मध्यमखाले धान क्विन्टलको दुई हजार दुई सय ३० रुपैयाँ रहेको छ। गत वर्ष खाद्य संस्थानमार्फत जिल्लाअनुसार फरक–फरक मूल्य तोकेको भए पनि चालू आर्थिक वर्ष ०७३/७४ मा मुलुकभर कार्यान्वयन हुने गरी मूल्य निर्धारण गरिएको कृषि विकास मन्त्रालयले जनाएको छ।

दुई वर्षअघि ०७१ मा निर्धारण गरेको मूल्यअनुसार मोटा धानको प्रतिक्विन्टल दुई हजार १३ र मध्यमखाले धानको दुई हजार एक सय २९ रुपैयाँ थियो।

किसानले उत्पादन गरेको धानको बजार सुनिश्चित गर्न मूल्य तोकिएको हो। कृषि विकास मन्त्रालयअन्तर्गतको ‘न्यूनतम समर्थन मूल्य निर्धारण सिफारिस समिति’को सिफारिसमा मन्त्रिपरिषद्ले मूल्य तय गरेको मन्त्रालयका सह–प्रवक्ता शंकर सापकोटाले बताए।

मूल्य तोकेपछि धान बिक्री नभएमा सो धान सरकारले खरिद गर्ने सुनिश्चित हुन्छ। बिचौलियाका कारण किसानले उत्पादनको न्यूनतम मूल्य पाउन नसकेको अवस्थामा मूल्य निर्धारणले किसानलाई राहत हुने भएको छ।

यस वर्ष समयमा पानी परेर धान रोप्न पाएका कारण धान उत्पादनमा पनि वृद्धि भएको छ। कृषि मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा करिब आठ लाख मेटि्रक टन धान बढी फलेकोे छ। आर्थिक वर्ष ०७२/७३ मा ४२ लाख मेटि्रक टन धान फलेकामा चालू आर्थिक वर्षमा करिब ५० लाख मेटि्रक टन फलेको मन्त्रालयका प्रवक्ता योगेन्द्र कार्कीले बताए। यो वर्ष १३ लाख ७७ हजार ४२ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको थियो। बर्खामा उच्च हिमाली क्षेत्रमा ९९ प्रतिशत, मध्यपहाडी क्षेत्रमा ९८ प्रतिशत र तराई क्षेत्रमा ९७ प्रतिशत खेतमा रोपाइँ भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 198

प्रतिक्रिया (०)

सम्बन्धित खबर