यस वर्षको चलचित्र दिवसको दलान पछिल्ला केही वर्षभन्दा अलिक सुधारात्मक छ । सिनेमाको मुख्य गन्तव्य चलचित्र घरहरू कोरोना संक्रमणका कारणले वर्षौ बन्द भएर बल्लतल्ल खुल्ने तर्खरमा छन् । कोरोना त्रासमा समयमा रिलिज हुन नपाएका अनेकन सिनेमाहरू, कामको कमी भएका सिने जनशक्तिहरू अनि आगामी वर्षहरूको अन्यौल चाहिँ उस्तै छ ।
त्यसैगरी हरेक वर्ष असोज १ गते राष्ट्रिय चलचित्र दिवसका रूपमा पनि मनाइन्छ । चलचित्र विकास बोर्डले सन् २०१२ मा हरेक वर्ष असोज १ गतेका दिन कार्यक्रमहरू गर्दै दिवस मनाउने क्रम चलाएको हो ।
शुरूवाती दिवसहरूमा एक सप्ताह नै यस चलचित्र सप्ताह अनि दिवसका रूपमा मनाउने अवधारणा रहे तापनि सुस्तरी असोज १ मा मात्र कार्यक्रमहरू गरी मनाउन थालिएको हो । चलचित्र बिकास बोर्ड भने सन् २००० को ३० जूनमा स्थापित संस्था हो, जसको मूल उद्देश्य चलचित्र प्रद्र्धधन अनि चलचित्रकर्मीहरूको संस्थागत विकास पनि हो ।
सन् १९५१ मा नेपाली भाषाको तर कोलकातामा उत्पादन गरिएको चलचित्र ‘सत्य–हरिश्चन्द्र’ जसलाई डिबी पराजुलीले निर्माण गरेका हुन् । त्यपछि नेपालमै उत्पादित चलचित्र ‘आमा’ सन् १९६४ अक्टोबर ७ मा प्रदर्शन गरिएको हो । सुस्तरी अनेकन आरोह–अवरोह पार गर्दैै अब नेपाली सिने जगत विश्व मानचित्रमै आफ्नो छति उभ्याउन सफल हुँदै गएको छ ।
विक्रम सम्वत् २०२१ मा चलचित्र ‘आमा’मा रेडियो नेपालका तत्कालीन गायक र संगीतकार शिवशंकर मानन्धर अनि सुश्री भुवन चन्दले नायिकाका रूपमा भूमिका देखाएका थिए । त्यसपछि विसं २०२३ मा अर्को बहुप्रतीक्षित नेपाली चलचित्र ‘माइतीघर’ प्रदर्शनमा आयो । काठमाडौंको माइतीघर मण्डला उतिबेला त्यही चलचित्रको उत्पादन समूहको कार्यालय रहेका कारणले माइतीघर नामाकरण गरिएको छ । भारतीय अभिनेता माला सिन्हा र नेपाली सिपी लोहनी अभिनित माइतीघरको जोडी पछि गएर वास्तविक जीवनकै पनि जोडी बन्न गए ।
त्यसैगरी विसं २०२४ मा हिजो आज र भोलि अनि विसं २०२८ मा ‘परिवर्तन’ अनि ‘मनको बाँध’ जस्ता चलचित्रहरू आए । कहिले ‘राते काँईला’को त्रास अनि कहिले ‘शंकर’को साथ, कहिले ट्रक ड्राइभरका ‘पिरती’ त कहिले ‘बसन्ती’को इतिहाससँगै नेपाली सिने जगतले रफ्तार लिँदै आयो । अब ‘कालो पोथी’, ‘निभ्न लागेको दियो’, ‘देश खोज्दै जाँदा’ आदि जस्ता विश्वव्यापी जान तरिकाले सक्ने नेपाली चलचित्रहरूलाई कहिलेकाँही एरिक भ्यालीको ‘क्याराभान’ अनि ‘हनीहन्टर’ जस्ता छोटा तर मार्मिक भिडियोहरूले पनि धेरै सिकाएका हुन् ।
भारतीय दक्ष कलाकार अनि प्रविधि आयात गरेर बनाइने शुरूवाती नेपाली चलचित्रहरू अब ५० वर्षपछिको अवस्थामा आफैँमा निर्भर र विश्व गुणस्तरका हुन थालेका छन् । यही क्षेत्रमा अध्ययन गरेका अनि बुझेका नेपालीविज्ञ अनि कर्मठ मष्तिष्क र हातहरूले क्यामरा अनि पर्दामा आफ्नो बाजी मारिरहेका छन् । केही तिता अनि केही मीठा अनुभव र उपलब्धिसँगै नेपाली चलचित्र आजको स्थानमा आइपुगेको हो ।
यो वर्ष पनि ‘थाहा’ आन्दोलनका अभियन्ता रूपचन्द्र बिष्टको जीवनमा आधारित चलचित्र ‘रुदाने’ लगायत अन्य केही चलचित्रहरूसँग दर्शकको ठूलै आशा राखेका छन् ।
दर्पण छाँयाका प्रतिबिम्ब नभुलेको नेपाली दर्शकको हृदय कहिले हाकु काले त कहिले थिन्ले लुण्डुपको मर्मस्पर्शी यथार्थ अभिनयसँग लुटपुटिएको छ । अब त नेपाली चलचित्रले पनि करौडौँको व्यापार गर्न थालेको छ भने विदेशमा पनि नेपाली समुदायको मायाका कारणले बजार बिस्तार भएको छ ।
ग्ल्यामर र मारकाटबाट पर रहेर पनि चलचित्र उत्कृष्ट बन्न सक्छ भन्ने उदाहरण प्रशस्त स्थापित भएको छ । आरामदायी सिनेमा हलदेखि सहज बजार व्यवस्थापनसम्म अब नेपाली चलचित्र पनि एउटा मापदण्ड र अनुभवको उपज भएको छ । असोज १ गतेको यो राष्ट्रिय चलचित्र दिवसलाई अझ भव्य रूपमा मनाउन सकियोस्, चलचित्र बनाउने र माया गरेर हेरिदिने सबैलाई शुभकामना ।
यसवर्षको चलचित्र दिवसको दलान अलिक फरक कठघरामा उभिएको छ । सिनेमाको मुख्य गन्तव्य चलचित्रघरहरू कोरोना संक्रमणका कारणले बन्द छन् । अझै पूरै कहिले खुल्ने हुन् थाहा छैन रु यतिमात्र हैन, कोरोना त्रासमा समयमा रिलीज हुन नपाएका अनेकन सिनेमाहरू, कामको कमी भएका सिने जनशक्तिहरू अनि आगामी वर्षहरूको अन्यौल पनि उस्तै छ ।
यस वर्ष विश्वभरिका सिने जगतलाई धैर्य अनि प्रतीक्षाको खाँचो छ । अनि खाँचो छ, थोरै आशा र उर्जाको । शीघ्र सबै कुरा सामान्य होस् । क्यामराको लेन्स खुलोस् । लाइटका बत्तीहरू बलुन् । एक्सन र कट सुनिन–देख्न पाइयोस् । हामीहरू सिनेमाघरमा फेरि जान हतारमा छौं । हामीलाई हँसाउने, रुवाउने र समाजको चित्र दुरुस्तै देखाउने सिनेमाको खाँचो छ ।
हामी छिटै सिनेमा हलमा गएर नेपाली चलचित्र हेर्न चाहन्छौं । संवाद र चरित्रसँगै हाँस्न, रुन अनि भुल्न चाहन्छौं । हामीलाई समाजको वास्तविक चित्रण देखाउने अनि भावनामा बगाउने चलचित्रहरूको खोजी छ । सबै कुरा शीघ्र सामान्य हुनेछ । श्रोत:हाम्रो पात्रो