Aamsanchar

आजबाट पूर्वाञ्चल दैनिक २२ औं बर्षमा प्रवेश

Author Image
बुधवार, मंसिर १, २०७३

बिर्तामोड ।

111-1-300x99

मोफसलमा पहिलोपटक अफसेट प्रविधि भित्र्याउने पूर्वाञ्चल दैनिक प्रकाशनको २१औं बर्ष पूरा गरी बुधवारबाट २२औं बर्षमा प्रवेश गरेको छ ।

श्रीअन्तु प्रकाशन (प्रा.)लि.द्वारा प्रकाशन हुँदै आएको पूर्वाञ्चल दैनिक अहिले पूर्वका ६ जिल्ला तथा भारतका केही क्षेत्रमा दैनिक विक्री वितरण हुँदै आएको छ भने इन्टरनेटमार्फत रंगीन इ–पेपर र इ–पूर्वाञ्चल अनलाइनबाट विश्वभर सम्प्रेषण हुँदै आएको छ । प्रेस काउन्सिल नेपालद्वारा ‘क’ श्रेणीमा वर्गीकृत पूर्वाञ्चल दैनिक २२औं बर्ष प्रवेशको पूर्वसन्ध्यामा प्रकाशन गृहका अध्यक्ष टोरुप प्रसाईं, प्रकाशक भरतलाल गिरी र प्रधान सम्पादक मदन ढकालले शुभकामना दिँदै नागरिकको सूचनाको अधिकार रक्षा गर्दै पूर्वाञ्चल अविचलित रुपमा सबैको साझा भएर उभिइरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यस्तै सूचना विभागका महानिर्देशक रघुराम विष्टले पूर्वाञ्चल दैनिकलाई शुभकामना दिँदै आम पाठक समक्ष सही सूचना, ज्ञान र मनोरञ्जन तथा देशको आर्थिक तथा सामाजिक विकासलाई समेत महत्वपूर्ण स्थान दिँदै निरन्तर प्रकाशन भएकोमा खुशी व्यक्त गरेका छन् ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले समाजमा भएका सकारात्मक विषयवस्तु, विकास निर्माण र जनजीविकाका सवालहरुलाई अझ प्राथमिकता दिँदै अगाडि बढ्न आग्रहसहित पूर्वाञ्चल दैनिकको निरन्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका अध्यक्ष डा. महेन्द्र विष्टले पूर्वाञ्चल दैनिकलाई शुभकामना दिँदै पूर्वाञ्चलले आजका दिनसम्म हासिल गरेको सफलता नेपाली पत्रकारिता क्षेत्रका लागि खुशीको कुरा भएको बताएका छन् । ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध पूर्वाञ्चल दैनिकले नेपाली पत्रकारिताको संस्थागत विकास र स्थानीय पत्रकारिताको प्रबद्र्धनमा पु¥याएको योगदान र समाज रुपान्तरणको दिशामा खेलेको भूमिकाको प्रशंसा गर्दछु’– अध्यक्ष डा. विष्टले शुभकामना सन्देशमा भनेका छन् ।

त्यस्तै नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङले पूर्वाञ्चल दैनिक पूर्वाञ्चल क्षेत्रमा मात्र नभएर देशविदेशसम्म विश्वसनीय र लोकप्रिय भएको उल्लेख गर्दै यो धेरै झापाली पत्रकारहरुको पाठशालाको रुपमा स्थापित भएको जनाएका छन् । अध्यक्ष नेम्वाङले सत्य तथा विश्वासिलो सूचना प्रवाहमा गतिशील हुँदै आम पाठकका रुचीलाई प्राथमिकता दिएर पूर्वाञ्चल दैनिकले न्याय गरिरहेको बताएका छन् ।

‘समाजका विकृति–विसंगति र बेथितिकाविरुद्ध धावा बोल्ने पूर्वाञ्चल, पत्रकारिताका माध्यमबाट मानवीय चेतनाको विकास र राष्ट्रको समृद्धिसँगै परिवर्तन चाहन्छ’– अध्यक्ष नेम्वाङले भनेका छन् – विगतमा जस्तोसुकै परिस्थिति र चुनौतिका बाबजुद पनि शान्ति, लोकतन्त्र र सामाजिक न्यायका पक्षमा आफूलाई उभ्याउँदै स्वतन्त्र पत्रकारिताको विम्बका रुपमा स्थापित रहन पूर्वाञ्चल दैनिकलाई सफलता मिलेको छ ।’

त्यस्तै झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले शुभकामना दिँदै पूर्वाञ्चल मेचीकै स्थापित र लोकप्रिय पत्रिका भएको बताएका छन् । उनले पूर्वाञ्चलले शान्ति, सुशासन, विकास, सामाजिक विकृति, पछाडि पारिएका वर्ग र समुदाय तथा राजनीतिक लगायतका विषयमा अझ सशक्त रुपमा खोजमूलक समाचार र अन्य सामग्री सम्प्रेषण गर्दै आएको र आगामी दिनमा त्यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 280

प्रतिक्रिया (०)

सम्बन्धित खबर