काठमाण्डाै – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा केही महत्त्वपूर्ण नेताहरु छुटेको बताउनुभएको छ । बालुवाटारमा भएको विश्वेश्वरप्रसाद कोइराला : शताब्दी सन्दर्भ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले हिजो मन्त्रिपरिषद्लाई सङ्ख्यात्मक हिसाबले पूर्णता दिए पनि केही महत्त्वपूर्ण व्यक्ति छुटेको बताउनुभयो ।
केही राम्रा व्यक्तिलाई सरकारमा समेट्न नसेकेकामा दु:ख लागेको देउवाको भनाइ छ । ‘सरकारमा आउनै पर्ने व्यक्ति पनि गठबन्धनका कारण आउन पाउनुभएको छैन, मलाई राम्रोसँग थाहा छ ’ प्रधानमन्त्री देउवाले भन्नुभयो ।
देउवाले आफू प्रधानमन्त्री भएको ८८ दिनभित्र बल्ल हिजो मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । त्यसमाथि प्रधानन्यायाधीशका आफन्तलाई समेत भागबण्डामा मन्त्री बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।