काठमाडौं – उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले आफूले पदबाट राजीनामा दिने बताएका छन्। उनले आफू र कांग्रेसलाई बदनाम गरिएको भन्दै राजीनामा दिन लागेको जानकारी दिए।
‘मेरो विवेकले राजीनामा दिने निर्णयमा पुँगें। आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउँछु । ४५ वर्ष कांग्रेसमा योगदान पुर्याएको व्यक्तिलाई अनावश्यक विवादमा तानियो,’ हमालले भने, ‘राजीनामा नदेऊ भनेर दबाब पनि आएको छ तर राजीनामा दिन्छु।’
हमालले आफूलाई अनावश्यक विवादमा तानेकाले झन्झटमा नफस्ने बताए। ‘मैले आफ्नो स्वविवेक प्रयोग गरें, धेरै सोचेँ, किन विवादमा परुँ म‚’ उनले भने‚ ‘किन राजीनामा दिने भनेर नेताहरुले पनि भनेका छन् तर आज राजीनामा दिन्छु।’
उनी तीनअघि मात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा नियुक्त भएका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप खेप्दै आएका थिए। देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हुन्। हमाललाई मन्त्री बनाएको विषयलाई लिएर प्रधानमन्त्री शेरबहादुर देउवाको पनि आफ्नै पार्टी र बाहिरबाट आलोचना हुँदै आएको छ।