Aamsanchar

नकारात्मक सोच, एकअर्काप्रतिको वितृष्णालाई कम गर्ने दिन

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७८

यो दिन अर्थात् अन्तर्राष्ट्रिय सहनशीलता दिवस युनेस्कोले घोषणा गरेको दिवस हो । सन् १९९६ मा पहिलो पटक संयुक्त राष्ट्र संघको महासभामा यसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने मान्यता दिइएको थियो ।

सन् १९९५ मा नै विश्वमा फैलिइरहेको नकारात्मक भावना र सोच, एकअर्काप्रतिको वितृष्णालाई कम गर्न र समुदायबीच सहनशीलता बढाउनका लागि युनेस्कोले यसलाई अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउन प्रस्ताव गरेको थियो ।

विश्वभर असहमति, असमझदारी र सहनशीलता गुमेपछि आइपर्न सक्ने खतराहरुबारे जागरुक बनाउन यो दिवस मनाइन्छ । युनेस्कोले यही दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु पनि आयोजना गर्ने गरेको छ ।

आधुनिक जीवनशैली र बदलिँदो परिवेशले विश्वभर विकास मात्र भइरहेको छैन, हाम्रा समाजमा गहिरो परिवर्तन पनि ल्याइरहेको छ । आधुनिकीकरणले विश्वमा संचार र सन्देश आदानप्रदानका लागि विशाल अवसर पनि सिर्जना गरिरहेको छ । सँगसँगै असमानता र एकअर्काप्रति उत्पन्न हुने वितृष्णाका भावहरु पनि बढिरहेको कुरालाई नकार्न सकिँदैन ।

राजनीतिक परिवर्तन र यस्ता परिवर्तनले निम्त्याउन सक्ने गैर राजनीतिक अवस्था, कहिलेकाहीँ हुनसक्ने गलत राजनीतिक प्रवृत्तिको उदय र विभाजनको बहस हामीले बारम्बार देखिरहेका छौँ । यसले हाम्रो विविधतालाई कमजोरीका रुपमा विकास गर्ने भाष्य पनि विकास गरिरहेको छ । यही विकसित गलत भाष्यका कारण विश्वमा सहिष्णुता, सद्भाव र सहनशीलताको कमी पनि देखिन थालेको छ । कतिसम्म भने विश्वका विभिन्न ठाउँमा अहिले पनि आतंककारी हमला भएका छन्, मानव समुदायलाई एकताको सुत्रमा बाँध्न खोजिएका प्रयासहरु विफल भएका छन् । यसको कारकका रुपमा आधुनिकीकरणलाई मान्नेहरु पनि छन् । जे होस्, बढ्दै गएको असहिष्णु व्यवहार र गहिरो बन्दै गएका सामुदायिक खाडलका मुद्दाहरुलाई आजको दिनले कम गर्न सन्देश दिन्छ । यस्ता मानवीय त्रुटी, अमानवीय जटिलताबाट मुक्ति मिलोस् भन्ने चाहना राख्ने हो भने सहनशीलताको मुख्य भूमिका हुन्छ ।

विश्वमा निकै धेरै सँस्कृतिहरु छन्, बहुलता छ, विविधता छ । हाम्रो रुप, रंग र आकार फरक होला । तर, हामी सबैलाई जोड्ने एउटा सुत्र हो, हामी सबै मानव हौँ, मानिस हौँ । र, मानवताको समुदाय भनेको एउटै हो । अनि यो विविधताबीच एकताका लागि सबैभन्दा महत्त्वपूर्ण सुत्र हो– सहनशीलता ।

आजको दिवसले मानवअधिकारलाई रक्षा गर्दै विविधता र बाहुल्यताको सम्मान गर्दै एकअर्कालाई बुझ्न सहयोग गर्छ, हामीलाई सहनशील बनेर विभेद र घृणालाई अस्वीकार गर्न प्रेरित गर्छ ।

विश्वले पाँच तरिकाबाट वितृष्णा र घृणालाई टक्कर दिन सकिने कुरामा विश्वास गर्छ । पहिलो हो, कानुन । राज्यले सहनशील समाज, समुदायको विकासका लागि कानुन निर्माणमा ख्याल गर्नु पर्छ भन्ने मानिन्छ । त्यस्तै, कानुन निर्माण भइसकेपछि यसलाई बुझाउन शिक्षाको ठूलो महत्त्व हुने मानिन्छ । असहिष्णु समाज वा समुदायलाई शिक्षाको माध्यमबाट परिवर्तन गर्न सकिने विश्वास गरिन्छ । त्यस्तै, सूचनासँगको पहुँचलाई पनि सहनशील समाज निर्माणका लागि आवश्यक भएको युनेस्कोले आफ्नो घोषणा पत्रमा उल्लेख गरेका छ । व्यक्तिगत सचेतना र स्थानीय स्तरमा हुनसक्ने समाधान अरु दुई मुख्य कुरा हुन् जसले विश्वमा सहनशील समाज निर्माण गर्न र वितृष्णालाई हटाउन सहयोग गर्छन् ।

अन्तर्राष्ट्रिय सहनशीलता दिवसको हाम्रो पात्रोको तर्फबाट तपाईंहरु सबैलाई शुभकामना । सहनशील बनौँ, सभ्य र सहिष्णु समाज निर्माणमा योगदान गरौँ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर