इलाम।
अग्र्यानिक चियाले राम्रो मूल्य पाउन थालेपछि यहाँका चिया किसानले रासायनिक मल र विषादीको प्रयोग घटाउँदै गएका छन् ।
केही वर्ष अघिसम्म पूर्ण रासायनिक मल र विषादी प्रयोग गर्ने किसान रासायनिक मल तथा विषादीयुक्त चियाबाट अन्तर्राष्ट्रिय बजार नफष्टाउने बुझेपछि अग्र्यानिक चिया उत्पादनमा अग्रसर भएका हुन् ।
केही वर्षयता पूर्ण अग्र्यानिक तयारी चिया उत्पादन गर्दै आएको माइपोखरीको जसवीरेस्थित सन्दफू चिया कारखानाका प्रबन्धक शरद सुब्बाले रासायनिक मल तथा विषादीको प्रयोगले अन्तर्राष्ट्रिय बजारमा स्थान नपाएपछि धेरै किसानले अग्र्यानिक चिया उत्पादनमा जोड दिन थालेको बताउनुभयो ।
हरियो चिया टिप्ने अन्तिम समय हुँदा पनि अग्र्यानिक चिया प्रशोधन गर्ने कारखानाले चियाको मूल्य घटाएका छैनन् । फाकफोकस्थित तीनजुरे चिया कारखानाले पनि अग्र्यानिक हरियो चियाको मूल्य रु २५० भन्दा बढीनै दिँदै आएको कारखानाका व्यवस्थापक सोमनाथ शर्माले उल्लेख गर्नुभयो ।
‘ अहिले प्रमाणित नगरिए पनि हाम्रो चिया पूर्ण अग्र्यानिक छ’ उहाँले भन्नुभयो “त्यही कारण पनि विदेशबाट आएको माग धान्न हम्मेहम्मे परेको छ ।” साँखेजुङ– ७ की मिलनकुमारी खत्री पनि आफूले उत्पादन गरेको अग्र्यानिक चियाबाट निकै सन्तुष्ट हुनुहुन्छ ।
विसं २०६५ मा लघु उद्योगका रूपमा आफैँं चिया प्रशोधन उद्योग स्थापना गर्नुभएकी खत्रीले अहिले आफ्नो उद्योगमा धान्नै नसक्ने माग आएको बताउनुभयो । खत्रीसँग व्यापारीले ३० देखि ४० टनसम्म अग्र्यानिक चिया माग गरेका छन् । तर, बजार राम्रो भए पनि कारखानाको क्षमता र श्रमशक्तिको अभाव हुँदा माग धान्न नसकेको उहाँको भनाइ छ ।
नेपालका ठूला सहर विर्तामोड, विराटनगर, धरान, काठमाडौँका साथै रसिया, थाइल्यान्ड र ताइवान पनि निर्यात हुने गरेको खत्रीले बताउनुभयो ।
विगत वर्षको तुलनामा रासायनिक मल र विषादी प्रयोग गर्ने किसान ५० प्रतिशतले घटेको केन्द्रीय चिया सहकारी सङघका महासचिव रवीन राई जानकारी दिनुभयो । नेपालबाट वार्षिक करिब ४० लाख किलो तयारी चिया विदेश निर्यात हुने गरेको छ । त्यसमध्ये ९० प्रतिशत तयारी चिया भारत र १० प्रतिशत तेस्रो मुलुकमा निर्यात हुने गरेको उहाँले जानकारी दिनुभयो ।
इलाममा अहिलेसम्म गोर्खा टि–स्टेट, ग्रीन एन्ड स्पेस्यालिटी, हिमालयन साङ्ग्रिला, तीनजुरे र मिष्टभ्यालीले अग्र्यानिक चिया उत्पादन गर्दै आएका छन् ।