Aamsanchar

यसरी सुरु भयो सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता

Author Image
शुक्रवार, पौष ८, २०७३

विराटनगरः

khalduda1

राष्ट्रपति विद्यादेवी भणडरीले विराटनगरको सहिद रंगशालमा भव्य समारोहबीच सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन गरेकी छिन् ।

उद्घाटन कार्यक्रममा राष्ट्रपति भण्डारीले राज्यको सीमित साधन स्रोतले मात्र खेलकुद क्षेत्रको समग्र विकास सम्भव नहुने भएकोले सार्वजनिक निजी साझेदारी लगाउनी बढाउनु पर्ने बताइन् । भण्डारीले भनिन्, ‘राज्यको प्रयास खेलकुदमा आफ्नै लगानी अभिवृद्धि गर्ने भए पनि त्यसले मात्र समग्र खेल क्षेत्रको विकासमा अपुग हुने भएकोले साझेदारी बढाइनु पर्छ ।’

खेलकुदका माध्यमबाट नेपाली खेलाडीको निष्ठा र समर्पणले अन्तर्राष्ट्रियस्तरमा इज्जत तथा प्रतिष्ठा बढेको बताउदै राष्ट्रपतिले गत वर्षको भूकम्पको नाकारात्मक प्रभावका बाबजुत पूर्वाञ्चलमा राष्ट्रिय खेलकुद हुनु सुखद पक्ष भएको बताइन् ।

भण्डारीले क्रिकेट र फुटबलमा नेपाली खेलाडीले गरेको प्रगति प्रशंसायोग्य भएको चर्चा गरिन् । उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले सातौं खेलकुद खेलको विकासमा कोसेढुंगा सावित हुने बताए ।

खेलकुद सचिव महेशप्रसाद पौडेलले काठमाडौं, विराटनगर र पोखरामा राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने लक्ष्यलाई यो प्रतियोगिताले थप बल मिल्ने बताए । उनले जाकर्तामा हुने एसियाली खेलकुद, नेपालमा सन् २०१९ मा हुने सागको तयारीका लागि पनि सातौं राष्ट्रिय खेलकुद सहयोगी हुने बताए । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिताले पूर्वाञ्चलमा खेलकुदको विकास उत्साहजनक रुपमा बढ्ने बताए ।

प्रतियोगितामा ओलम्पीयन बैकुण्ड मानन्धर, दिपक विष्ट, संगीना वैध, चन्द्रकला थापा, डम्बर कुवँर, अर्जुन पण्डित, टिकाराम श्रेष्ठ, मेनुका रावत, पुष्पराज ओझालगायतले विराटनगरको सहिद रंगशालामा सातौं खेलकुदको ज्योति परिक्रमा गराएका थिए ।

खेलाडी नगेन्द्र पोमुले सातौंको खेलकुद ज्योति प्रज्वलन गराए । यसअघि पाँच विकास क्षेत्रका पाँच टिम र तीनवटा विभागीय टिम नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टिमले मैदानमा मार्चपास गरेका थिए । राष्ट्रिय तथा सांस्कृति पक्ष झल्कने नृत्यका साथै सातौंको मस्कट अर्नाको मास्क लगाएका खेलाडीले खेल मैदानको माहौल निकै रोमाञ्चक बनाए । कार्यक्रममा गायक सुमित खड्का र प्रश्ना शाक्यले खेलाडीकै लागि बनाइएको गीत गाए ।

तुलब्यानरका साथ बेहुली झैं सिँघारिएको सहिद मैदानको उद्घाटन कार्यक्रम हेर्ने सर्वसाधारणको बाक्लो उपस्थिति थियो । दुई घण्टा ३० मिनेटसम्म चलेको उद्घाटन कार्यक्रममा विद्यार्थीको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रमाइलो थियो।

उद्घाटनमा जातीय पहिचान झल्कने झाँकीका साथै खेलाडीले मार्चपाससमेत गरेका थिए । शुक्रबार सुरु भएको प्रतियोगिता पुस १५ गते धरानमा सम्पन्न हुनेछ।

प्रतियोगितामा पाँचवटा विकास क्षेत्रका टोलीसँगै तीनवटा विभागीय टोली त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लबका खेलाडीको सहभागिता रहनेछ । प्रतियोगितामा खेलाडी, प्रशिक्षक, निर्णायक, पदाधिकारी गरी कुल पाँच हजार आठ सय ४९ जनाको सहभागिता रहनेछ । प्रतियोगितामा जिल्ला र क्षेत्रीय छनोट पार गरी आएका कुल तीन हजार नौ सय ७२ जना खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

सातौं खेलकुदमा विभिन्न ३० वटा खेल समावेश गरिएको छ । तर स्क्वास, साइक्लिङ, आर्चरी र फेन्सिङको पदकलाई भने पदकतालिकामा जोडिने छैन । सातौं राष्ट्रिय खेलकुदअन्तर्गतका पौडी, ट्रायथलन र शारीरिक सुगठनका प्रतियोगिता भने करिब एक वर्षअघि नै सम्पन्न भइसकेका छन् ।

यसदेखि बाहेक गल्फ र विलियर्ड तथा स्नुकर प्रतियोगितामा भने सम्बन्धित संघले आफ्नै खर्चमा आयोजना गर्ने भएका छन् । यसैगरी प्रतियोगितामा रग्बी, डान्स स्पोटर्स, साम्बो, रक क्लाइम्बिङ र दोहोरीलाई प्रदर्शनी खेलका रूपमा समावेश गरिएको छ ।

प्रतियोगिताका खेलहरू पूर्वाञ्चलका सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, धनकुटा र उदयपुरमा आयोजना हुनेछन् । यसैगरी भौतिक पूर्वाधारको अभावका कारण स्क्वास ललितपुरमा, लनटेनिस कास्कीमा र फेन्सिङ काठमाडौंमा आयोजना हुनेछन् ।

प्रतियोगितामा दुई सय ९४ स्वर्ण, दुई सय ९४ रजत र चार सय ४७ कांस्य पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । तर पदक तालिकामा भने दुई सय ६८ स्वर्ण, दुई सय ६८ रजत र चार सय १६ वटा कांस्य पदकमात्र गणना गरिनेछ । यो पदकमा यसअघि नै सम्पन्न भइसकेका पौडी, ट्रायथलन र शारीरिक सुगठनको पदक भने जोडिएको छैन ।

प्रतियोगितामा स्वर्ण पदक जित्ने व्यक्तिगत स्पर्धाका खेलाडीले १५ हजार रुपैयाँ र टिम स्पर्धाका खेलाडी सात हजार रुपैयाँ नगद पुरस्कार पनि पाउनेछन् । यसैगरी राष्ट्रिय कीर्तिमान बनाउने खेलाडीलाई थप २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । ‘खेलाडीलाई पदक जितेबापत प्रदान गरिने नगद पुरस्कार पदक वितरण समारोहमै तत्काल प्रदान गरिनेछ ।

यस पटक खेलाडीले नगद पुरस्कार लिन राखेप धाइरहने परम्पराको अन्त्य हुनेछ’, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले भने । प्रतियोगिता आयोजनाका लागि ३१ करोड रुपैयाँ माग गरिएकोमा सरकारले २८ करोड रुपैयाँ उपलब्ध गराइसकेको जानकारी पनि सदस्यसचिव विष्टले दिए ।

सातौं खेलकुदअन्तर्गतको महिला फुटबल सुनसरीको दुहवीमा र पुरुष फुटबल धरानमा सुरु भइसकेको छ । प्रतियोगितामा सहभागी हुन अधिकांश खेलाडी सम्बन्धित खेल स्थलमा पुगिसकेका छन् ।

सातौं खेलकुदमा सहभागी हुन आउनेका कारण पूर्वाञ्चलका विभिन्न सहरमा चहलपहल पनि निकै बढेको छ । प्रतियोगिताको समापन पुस १५ गते धरानस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर