काठमाडौं:
तेश्रो एकीकृत बस्ती निर्माणको घोषणा गरेको धुर्मुस सुन्तली फाउण्डेशनलाई ४० लाख रुपैँया सहयोग प्राप्त भएको छ । प्रकाश कोइरालाको लुरेन्स कन्ट्रक्टिङ एण्ड जेनेरल क्लिनिङ कम्पनीको तर्फबाट एकीकृत नमुना मुसहर बस्ती निर्माणका लागि उक्त सहयोग प्राप्त भएको हो ।
आठ वर्षदेखि कतारमा कम्पनी सञ्चालन गर्दै आएका कोइरालाले कतारबाट दुबई पुगेर धुर्मुस सुन्तलीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् । नेफ्टा अवार्डमा सहभागी हुन कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरे दुबई आउने खबर पाएकाले सहयोग हस्तान्तरणका लागि दुबई पुगेको उनले बताएका छन्।
उनले भने, ‘धुर्मुस सुन्तलीलाई यस अघि गरेको सहयोग खेर गएन त्यसैले तेश्रो बस्ती निर्माणका लागि ५ वटा घरको लागत बराबरको रकम हस्तान्तरण कतारबाट दुबई आइपुगेको हुँ ।’
उनले गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि ६ लाख रुपैयाँ नगद र ३ लाख ३५ हजार बराबरको निर्माण सुरक्षा सामग्री सहयोग गरेका थिए । आफूले सहयोग गर्न चाहेको व्यक्तिले राहात महसुस गर्ने गरी फाउण्डेशनले काम गरेर देखाएको हुनाले आफूले सकेको सहयोग गरेको उनको भनाइ छ ।
काम गरेर देखाउनेलाई सहयोग गरे एउटा एउटा गरेर थुप्रै बस्ती निर्माण हुने निश्चित रहेको भन्दै उनले सकेको सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । यस्तै, फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले अवार्ड थाप्न विदेश पुग्दा पाएको सहयोगले आफूलाई निकै प्रफुल्लीत तुल्याएको बताएका छन् ।
देश तथा विदेशमा बस्ने र नेपालको भलो चिताउने सबैले विकास चाहेका छन्, त्यो परिर्वतनको महसुस दिलाउन आफू कटिबद्ध भएर लाग्ने उनको दृढता छ। मानवता र सद्भावका लागि निर्माण गर्न लागिएको बस्तीसँगै चरम गरिबीको चपेटाबाट मुसहरलाई मुक्त गर्न सहयोगी हातको जरुरी रहेको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले बताएकी छिन् ।