सोमबारे औँसी को संयोग
जुन सोमबारको दिन औँसी पर्दछ त्यही दिनलाई सोमबारे औँसी भन्दछ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औँसी। तर सोमवार र औँसी मात्रको संयोग भने कहिलेकाहीँ मात्र हुने गर्दछ। वर्षभरि एक चोटी या दुइ चोटीसम्म सोमबारे औँसी पर्दछ।
सोमबारे औँसी को महत्व
यो पर्व स्नान या भनौँ दान दिनका लागि शुभ मानिन्छ। आजको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्थलमा टाढा टाढाबाट भक्तजनहरू धाउने गर्दछन्। हिन्दु धर्मावलम्बी अनुसार आजको दिन ूसोमबारे औँसी को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरूले पनि आफ्नो जीवनकालमा आजको दिन अर्थात् सोमबारे औँसी को तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ।
हिन्दु शास्त्र अनुसार आजको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ। सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतीक र सूर्य मस्तिष्कको प्रतीक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ र आजको दिन भगवान् शिवजी मै समर्पित छ।