Aamsanchar

भाउजूलाई पेट्रोल छर्किएर आगो लगाएर हत्या गर्ने देवर पक्राउ

Author Image
सोमवार, जेठ १६, २०७९

काठमाडौं : आफ्नी भाउजूलाई पेट्रोल छर्किएर आगो लगाउने देवर पक्राउ परेका छन्। सप्तरीको बोदेबरसाइन नगरपालिका-१ धनगढीका २० वर्षीय परमेश्‍वर साहलाई सप्तरी प्रहरीले आइतबार पक्राउ गरेको हो।

उनले गत माघ २१ गते बिहान ९ बजे २७ वर्षीया भाउजु राजकुमारी साहलाई पेट्रोल छर्की आगो लगाई हत्या गरेका थिए। घटनापछि मृतकका श्रीमान् ३० वर्षका रविन साह आफ्नै भाइले श्रीमती मारेको उजुरी लिएर सप्तरी प्रहरीमा पुगेको थिए।

घटनापछि फरार रहेका साहलाई इलाका प्रहरी कार्यालय बोदेबरसाइनबाट खटिएको टोलीले गाउँघरमै लुकीछिपी बसेको अवस्थामा फेला पारेको हो। उनलाई सोमबार जिल्ला अदालत सप्तरीबाट प्रहरी हिरासतमा राख्न १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको सप्तरीका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए।

खोजीको करिब ४ महिनापछि प्रहरीले परमेश्‍वरलाई नियन्त्रणमा लिन सफल भएको हो। खोजीको क्रममा प्रहरीले उनको सूचना दिने व्यक्तिलाई सम्मान गर्ने सूचनासमेत जारी गरेको थियो। गोप्य सूचनाको आधारमा परमेश्‍वरलाई पक्राउ गर्ने दोस्रो प्रयासमा गएराति नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) बालिष्टर सिंहले जानकारी दिए।

विशेष स्रोतका अनुसार प्रहरीले अभियुक्त परमेश्‍वर साह राति आमा र उनका परिवारलाई भेट गर्न आउने सूचना पाएको थियो। सोहीअनुसार प्रहरी केही दिनअघि उनको गाउँ धनगढी पुगेको थियो। तर उनलाई नियन्त्रणमा लिन भने सफल हुन सकेन।

पुनः गएराति गरिएको दोस्रो प्रयासमा उनलाई परिवारसँग भेटन आएको वेलामा घरबाटै नियन्त्रणमा लिएको इन्स्पेक्टर सिंहले बताए। पक्राउ अभियुक्त परमेश्‍वर पहिले लागुऔषधको कुलती रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २०७८ माघ २१ गते बिहान रविनकी पत्नी राजकुमारी घरमा खाना पकाइरहेकी थिइन्। रविन घरनजिकै बारीमा पराल ल्याउन गएका थिए। सोही मौका छोपी परमेश्‍वरले आगो लगाइदिएका रविनको आरोप छ। शरीरको विभिन्न भाग जलेका राजकुमारीको विराटनगरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा उनका माघ २२ गते मृत्यु भएको थियो।

मृत्युलगत्तै रविनले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए। जाहेरीमा अभियुक्तका दाजु तथा मृतकका श्रीमान रविनले आफ्नी श्रीमतीलाई कान्छो भाइले शरीरमा पेट्रोल छर्केर आगो लगाएर भागेको देखेको उल्लेख गरेका इन्स्पेक्टर सिंहले बताए।

प्रहरीमा जाहेरीलगत्तै स्थानीय, महिला अधिकारकर्मी तथा मानव अधिकारकर्मीहरूले घटनाको दोषीलाई तत्काल नियन्त्रणमा लिइ कारबाही गर्न चौतर्फी दबाब सिर्जना गरेका थिए। हत्या आरोपमा परमेश्‍वर पक्राउ परे पनि उनैले आगो लगाइदिएको भने पुष्टि भइसकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतक राजकुमारीकी २ वर्षकी छोरी आरती कुमारी र ८ वर्षका छोरा जितेन्द्र कुमार साह छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)