Aamsanchar

चार बर्ष देखि नेपालमा पनि गौरव यात्रा मनाउन सुरु

Author Image
शनिवार, जेठ २८, २०७९

विश्वभरी ईश्वी संवत् अनुसार जून महिनालाई गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाइने गरिन्छ । सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू अर्थात् लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जनसंख्या अन्तर्गतका विभिन्न पहिचानयुक्त समूहहरूले यस महिनालाई विशेष रूपमा मनाउने गरेका छन् । गौरव अर्थात् प्राइडको सुरुवात समाजले यी विभिन्न पहिचानयुक्त समूहहरूलाई अवहेलना गरी यस्तो हुनु एउटा लज्जाको विषय भनि लाञ्छित तुल्याउने भएकाले आफ्नो लैङ्गिक पहिचान तथा यौनिक पहिचान लज्जाको विषय नभएको र त्यसमा गौरव गर्ने नारा सहित सुरु भएको पाइन्छ । सोही गौरव महिनाको अवशरमा हुने भेला तथा र्यालि कार्यक्रमलाई गौरव यात्रा (प्राइड परेड) भन्ने गरिन्छ ।नेपालमा गौरव यात्रा आयोजना हुन थालेको चार वर्ष हुन्छ । लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक विविधताका सवाल र उपस्थितिलाई उठान गर्दै एउटा उत्सवका रूपमा २०७६ साल देखि क्वयेर युथ ग्रुप नाम संस्थाले आयोजना गरी गौरव यात्रा मनाउन थालिएको हो । नेपालमा प्रत्येक वर्ष जून महिनाको दोस्रो शनिबारका दिन गौरव यात्राको आयोजना हुँदछ । २०७६ सालमा एकपटक भौतिक उपस्थितिमा आयोजना भएतापनि त्यसपछीका दुई वर्ष सम्म विश्वमहामारीका कारण अनलाइन माध्यम अपनाइयो । नेपालमा गौरव यात्राको यो चौथो वर्ष भएतापनि भौतिक उपस्थितिमा दोस्रो वर्ष हो ।

यस वर्ष जून महिनाको दोस्रो शनिबार मिति २०७९ जेठ २८ गते अर्थात् सन् २०२२ जून ११ तारिखका दिन परेको छ । आयोजक क्वयेर युथ ग्रुपका अनुसार बिहान १०स्३० बजे फिब्वख्यः (माइतीघर), काठमाडौँमा भेला भई नयाँ बानेश्वरमा र्यालि टुङ्गिनेछ ।

नेपाल गौरव यात्रा विभिन्न भाषाहरूमा :

अङ्ग्रेजी : नेपाल प्राइड परेड ।

नेपाल भाषा : नेपाः गर्बयाः ।

तामाङ भाषा : नेपाल राङताङ युलकोर ।

तमु (गुरुङ) भाषा : नेपाल ङ्होईल्वुबये भ्रज्ञाँ र नेपाल ल्हुब्ये प्रबक्याँ ।

याक्थुङ (लिम्बु) भाषा : नेपाल हेन्छाम् तङ्नाम ।

बाजुरेली भाषा : नेपाल गौरव जात्रा ।

बाहिङ भाषा : नेपाल ग्वखी के गक्सिवा ।

थाङ्मी भाषा : नेपाल ताङ्तिनी मानाइसा ।

बान्तावा भाषा : नेपाल नुनामि कोत्लाम ।

नेपाली र मैथिली र भोजपुरी : नेपाल गौरव यात्रा ।

उर्दू : नेपाल नाज परेड ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 453

प्रतिक्रिया (०)

सम्बन्धित खबर