Aamsanchar

बालबालिका यसरी बचाउन सकिन्छ झाडापखालाबाट

Author Image
शुक्रवार, असार १०, २०७९

काठमाडौं – गर्मी तथा वर्षा याम सुरु भएसँगै झाडापखाला, हैजाजस्ता रोगहरू फैलन सक्ने भन्दै सावधानी र सतर्कता अपनाउन सरकारले आग्रह गरेको छ । बालबालिकाहरू यसको जोखिममा धेरै पर्ने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

के गरेमा धेरै जोखिम हुन्छ ?
स्तनपान नगराई बोतलको दूध खुवाइएका बच्चा, कुपोषित बालबालिका, दूषित खाना र पानी खाएका र व्यक्तिगत सरसफाईमा ध्यान नदिएका तथा खोप नपाएका बच्चा झाडापखाला र हैजाको जोखिममा बढी पर्ने मन्त्रालयले जनाएको छ ।

हैजाका लक्षण
पेट दुख्ने, बान्ता हुने, तिर्खा लाग्ने, पातलो दिसा हुने झाडापखाला र हैजाको लक्षण भएको मन्त्रालयले जनाएको छ ।

घरमै उपचार गर्न सकिन्छ
झाडापखाला भए घरमै पनि उपचार गर्न सकिने मन्त्रालयले जनाएको छ । “झाडापखाला हुनासाथ एक लिटर सफा पानीमा एक पुरिया जीवनजल राखी राम्ररी घोलेर पटकपटक खुवाउनुपर्छ । प्रशस्त मात्रामा सफा तथा झोल कुराहरू पटकपटक खान दिनुपर्छ,” मन्त्रालयले भनेको छ, “नरम तथा सजिलै पच्ने खानेकुरा थोरैथोरै गरी पटकपटक खुवाइरहनुपर्छ । स्वास्थ्यकर्मीले सिफारिस गरे अनुसार जिंक चक्कीको मात्रा नविराइकन खुवाउनुपर्छ ।”

व्यक्तिगत सरसफाईमा ध्यान दिने र स्वच्छ पानी तथा खाना खानु पर्ने जनाइएको छ ।

कस्तो अवस्थामा तत्काल अस्पताल लैजाने ?
खान पिउन नसक्ने गरी बिरामी भएमा, दिसामा रगत देखा परेमा, बारम्बार बान्ता भइरहेमा, धेरै तिर्खाएमा, ज्वरो आएमा र धेरै पटक पातलो दिसा गरेमा तत्काल अस्पताल लैजानुपर्छ ।

पखाला लाग्नबाट बच्ने उपाय
पखाला लाग्नबाट बच्न सौचालयमा मात्रै दिसा पिसाव गर्नुपर्नेमा मन्त्रालयले जोड दिएको छ । “दिसा पिसाव गरिसकेपछि साबुनपानीले मिचिमिची हात धुनुपर्छ । खाना बनाउनु, खुवाउनु र खानुअघि साबुनपानीले मिचिमिची हात धुनुपर्छ । पानी उमालेर, फिल्टर गरेर वा एक लिटर पानीमा ३ थोपा क्लोरिन झोल मिलाएर मात्रै पिउनुपर्छ,” मन्त्रालयले जनाएको छ, “बासी, सडेगलेको, झिँगा भन्केको खानेकुरा नखाने, खाने पानीको मुहान सफा र सुरक्षित राख्नुपर्छ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 373

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१