Aamsanchar

एकजना प्रहरीको काँधमा ७ सय ७२ जना नागरिकको सुरक्षाको जिम्मा

Author Image
बिहिवार, साउन ५, २०७९

मेचीनगर।  इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका प्रहरी ईकाइमा कार्यरत एकजना सुरक्षाकर्मीले ७ सय ७२ जना नागरिकको जीउधनको सुरक्षा गर्नुपर्ने एउटा अध्ययनले देखाएको छ ।

मेचीनगर नगरपालिका र बुद्घ—शान्ति गाउँपालिका कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतमा दशवटा प्रहरी ईकाइ रहेका छन् । २०७८ को जनगणना अनुसार मेचीनगर नगरपालिकामा पुरुष ६४ हजार ४ सय १० तथा महिला ६७ हजार १ सय १० गरी कुल १ लाख ३१ हजार ५ सय २० जनसंख्या रहेको छ ।

त्यसैगरी, बुद्घ—शान्ति गाउँपालिकामा पुरुष २५ हजार २ सय ७६ तथा महिला २७ हजार ६ सय ३५ गरी कुल ५२ हजार ९ सय ११ जनसंख्या रहेको छ । दुवै पालिकाको कुल जनसंख्या भने १ लाख ८४ हजार ४ सय ३१ रहेको छ । तर, इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका प्रहरी ईकाइमा भने प्रहरीको दरबन्दी २ सय ३९ मात्र रहेको प्रहरी अधिकारीहरुको भनाई छ । यसो गर्दा एकजना प्रहरीले ७ सय ७२ जना वा ७ सय ७१ दशमलव ६७ लाई शान्ति सुरक्षा प्रदान गर्नुपर्ने छ ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टामा प्रहरी नायव उपरीक्षकको कमाण्डमा दुईजना प्रहरी निरीक्षकसहित अन्य जनशक्ति परिचालन छ । मातहतका ईकाइमध्ये इलाका प्रहरी कार्यालय धुलावारीमामात्र प्रहरी निरीक्षकको कमाण्डमा टोली छ भने बाकी ईकाइमा बरिष्ठ प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी परिचालन छ ।

आफ्नो कार्यक्षेत्रमा शान्ति सुरक्षा तथा अमन चयन कायम राख्न इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आफू मातहत रहने इलाका प्रहरी कार्यालय धुलावारी, बुधबारे, सीमा प्रहरी चौकी नकलबन्दा, प्रहरी चौकी बाहुनडाँगी, तिरीङ्ग, चारआली, ज्यामिरगढी, अस्थायी प्रहरी चौकी सतिघट्टा, इटाभट्टा र अस्थायी ट्राफिक प्रहरी पोस्ट काँकरभिट्टा कार्य बिभागको स्थापना गरेको छ ।

इलामको रोङ्ग गाउँपालिकादेखि मेचीनगरसम्मको भारतसँग सीमा जोडिएको खुला ३५ किलो मिटर बोडर प्रहरीको निक्कै टाउको दुखाई हुने गरेको छ । कुल १ सय ४४ दशमलव २ किलो मिटर खुला बोडरमध्ये ३५ किलो मिटर त इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतले एक्लै हेर्नुपर्छ । हाल समाजमा घटिरहेका अपराधिक क्रियाकलाप रोक्ने, जनतालाई शान्ति सुरक्षाको प्रत्याभुति दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बिशिष्ट व्यक्तिहरूको सुरक्षा गर्ने तथा चुलिदै गएको ट्राफिक समस्या समधान गर्न प्रहरी त सक्रिय छन् । लागूऔषध ओसार पसारलाई नियन्त्रण तथा मानव ओसार पसार तथा बेचबिखन जस्ता आपराधिक कामको पनि प्रहरलिे नियन्त्रण र रोकथाम गर्दै आएको छ ।

मुलुकमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न र विधिको शासन स्थापनार्थ नेपाल प्रहरीको भूमिका अतुलनीय त छदैंछ । उर्जाशील जीवनको अतुलनीय समय प्रहरीमा रहेर राष्ट्रियता, विधिको शासन र शान्ति सुरक्षा स्थापनार्थ लागि परिरहेका पनि छन् । जनताको जीवन रक्षा राज्यको पहिलो दायित्व रहेको बताए एकजना प्रहरी अधिकारीले भने—‘ जनताको जिउ धन र सुरक्षामा प्रहरीले अहिलेसम्म निक्कै काम गरेको छ । विश्वभर फैलिएको कोभिड–१९ महामारी, प्राकृतिक प्रकोप, बाढी, पहिरो डुवानलगायत विपद्‍मा परेका नागरिकलाई आफ्नो जीवनको परवाह नगरी उद्दारमा खटिने प्रहरीको कार्य सराहनीय छ । ’

त्यसमा पनि दुवै पालिकालाई पक्की सडकले छोएका कारण सवारी साधनको सञ्चालन नियन्त्रण गर्नुपर्ने चूनौती पनि इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका प्रहरी ईकाइमा कार्यरत प्रहरीलाई निक्कै ठूलो छ । मुख्य जिम्मेवारी प्रभावकारी रूपमा प्रहरी र उपलव्ध श्रोत साधनको परिचालन गरेर इलाका प्रहरी कार्यालय काँकरभिट्टाले आफू मातहतका कार्यालयहरूलाई प्रहरी परिचान सम्वन्धी निर्देशन, नियन्त्रण, सुपरिवेक्षण गरेर प्रभावकारी रूपमा अनुगमन गर्ने गर्दछ । देशमा व्याप्त सशस्त्र, निशस्त्र वा राजनीतिक समुहहरूको बारेमा सूचना सङ्कलन गरी त्यसको प्रभावकारी मूल्याङ्गकन गरेर भविश्यमा हुन सक्ने खतराको समेत यसले पूर्वानुमान गरी प्रहरी परिचालन गर्ने कार्य गर्दछ ।

शान्ति–सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि शुरू भएको थियो । यसै साल चन्द्र शमशेरले पहिलो पुलिस सवाल जारी गरी वीरगञ्जको शान्ति–सुरक्षा कायम गर्ने जिम्मा प्रहरीलाई सुम्पेका थिए । अगष्ट १९१४ मा चन्द्र शमशेरले अग्रेज सरकारलाई ८ हजार फौज तत्कालै सहयोग पठाउन स्वीकार गरे । चन्द्र शमशेर कै शासनकालमा सन् १९२८ सम्ममा तराईका अन्य जिल्लाहरूमा पुलिस गोश्वरा, थाना तथा चौकीहरू स्थापना गर्न चन्द्र शमशेरले विभिन्न सवालहरू जारी गराए ।

सन् १९१९ (वि.सं. १९७६ पौष)को अन्त्यतिर चन्द्र शमशेरले काठमाडौँ उपत्यकाको शान्ति–सुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतू जिल्ला–पुलिस इन्स्पेक्टर सवाल जारी गरे । यस सवालले काठमाडौँ उपत्यकामा शान्ति–सुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वरा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरीयो भने ६ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवलमा तथा बाँकी २ थाना ललितपुर र भक्तपुरमा एक एक खडा गरिए । बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरिए ।

२००७ सालको क्रान्ति पश्चात नेपालका विभिन्न भागमा छरिएर रहेका प्रहरी इकाईहरूलाई संगठित रूपमा परिचालन गर्न सन् १९५१ तिर प्रहरी प्रधान कार्यालयको स्थापना गरी प्रहरी प्रशासनको सम्पूर्ण जिम्मा प्रहरी महानिरीक्षकलाई लगाईएको थियो। तोरण शमशेर ज.ब.रा. पहिलो प्रहरी महानिरिक्षकका (क्ष्न्ए) रूपमा नियुक्त भएका थिए। सन १९५५ मा प्रहरी व्यवस्थामा बिद्यमान कमजोरीलाई हटाइ यसलाई सङ्गठनात्मक रूपमा सुदृढ पार्न तत्कालिन राजा महेन्द्रबाट प्रहरी सुधार आयोगको गठन भयो । यसको सुझावको आधारमा सन् १९५५ (वि.सं. २०१२)मा प्रहरी सङ्गठनलाई नेपाल पुलिस फोर्सको रूपमा बैधानिक स्वरूप प्रदान गरियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर