‘मुहानदेखि बलुडाँडासम्मको काम अहिले नै सकिएको छ,’ उनले भने, ‘त्योभन्दा माथि ट्यांकी निर्माण सक्ने र केही जडान गर्ने कार्य मात्रै बाँकी छ ।’ मुहानदेखि मन्दिरसम्म करिब ५ किलोमिटर दूरी छ । यहाँ प्रेरा विष्णु जेभीले निर्माण गर्दै छ ।
इन्जिनियर नन्द ओझाका अनुसार मटरपम्प जोड्नेलगायतका पूर्वाधारका काम सकिँंदै गएको छ । मुहान भएको ठाउँ काफ्लेपाटीमा प्रमुख (इन्टेक) ट्यांकी निर्माण भएको छ । यहाँदेखि माथि बलुडाँडा, माथिल्लो फेदी, दोबाटो, नयाँ पाटी र पाथीभरा मन्दिरमा गरी अन्य छ ट्यांकी निर्माण भएको छ । लिफ्टिङ प्रविधिमार्फत प्रतिघण्टा ३० हजार लिटरका दरले पानी मन्दिरमा झार्ने योजना रहेको इञ्जिनियर ओझाले बताए ।
३ हजार ७ सय ९४ मिटर उचाइस्थित पाथीभरामा पानीको चरम अभाव छ । यो अभाव पूर्तीका लागि यहाँ आकाशे पानी ट्यांकीमा संकलन गर्ने, हिउँदमा जमेको हिउँ पगाल्ने, कुहिरोको पानी संकलन गर्ने जस्ता प्रयासहरू भएका थिए । सबैभन्दा बढी तीर्थयात्रीलाई माथिल्लो फेदीबाट पानी बोकेर जान अनुरोध गरिँंदै आएको छ । अढाई किलोमिटर पानी बोकेर जानुपर्ने हुन्छ । पाथीभरा देवी मन्दीर संरक्षण तथा सम्वर्द्धन समितिका सचिव लक्ष्मी काफ्लेका अनुसार दुई दशकअघिसम्म दर्शनार्थीले काफ्लेपाटीबाट पानी बोकेर लैजानु पर्थ्यो ।
३१ सय मिटर उचाइँको माथिल्लो फेदीमा बस्ती बसेपछि यहाँसम्म मुहानको पानी ल्याइयो । ३८ सय मिटर उचाइँमा भएकाले मन्दिर सम्म पुर्याउनचाहिँ सम्भव भएन । पाथीभरामा असोज/कात्तिक र फागुनदेखि वैशाखसम्म दैनिक १७ हजारसम्म तिर्थयात्री आउँछन् । समितिको तथ्यांकअनुसार वार्षिक ३ लाख भक्तजन आउँछन । सदरमुकाम फुङलिङवाट सुकेटार हुँदै काफ्लेपाटीसम्म गाडीमा जान सकिन्छ । काफ्लेपाटीबाट मन्दिरसम्म ५ किलोमिटर पैदल यात्रा गर्नुपर्छ । अधिकांस तीर्थयात्री हरेक बेलुका माथिल्लो फेदीमा पुग्ने र भोलिपल्ट बिहान दर्शनका लागि जान्छन् । गाडीबाट ओर्लिएपछि माथिल्लो फेदीसम्म अढाइ र फेदीदेखि मन्दिरसम्म अढाई किलोमिटर दूरी छ । उकालो चढ्नुपर्ने भएकाले पानीको आवश्यकता धेरै पर्छ ।