अमेरिकी सभामुख न्यान्सी पेलोसी मङ्गलवार राति ताइवान उत्रिएसँगै चीन र अमेरिकाबीचको तनाव बढेको छ । पेलोसी चीनको धम्कीलाई बेवास्ता गर्दै त्यहाँ पुगेकी हुन् ।
स्वतन्त्र टापु मुलुक ताइवानमाथि चीनले दाबी गरिरहेको छ । चीनले पेलोसीको ताइवान भ्रमणमा गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको थियो । पेलोसी २५ वर्षमा ताइवान भ्रमण गर्ने एक प्रमुख अमेरिकी अधिकारी हुन् ।
भ्रमणसँगै चीनले लक्षित सैन्य कारबाही गर्ने योजना बनाएको छ । चीनले १ अर्ब ४० करोड चिनियाँ नागरिकबाट शत्रुता लिएको नतिजा राम्रो नहुने भन्दै गम्भीर आपत्ति जनाएको छ ।
पेलोसीको विमान ताइपेईमा अवतरण गरेको केही मिनेटपछि चिनियाँ जनमुक्ति सेना (पीएलए) ले ताइवान वरपरको पानीमा छ वटा लाइभ-फायर सैन्य अभ्यास गर्ने घोषणा गर्यो । जुन बिहीबारदेखि आइतवरसम्म हुने तय भएको थियो।
लगत्तै २१ चिनियाँ सैन्य विमान ताइवानको वायु रक्षा पहिचान क्षेत्रको दक्षिण पश्चिममा उडेको छ । सोको ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले पुष्टि गरेको छ।
रक्षा मन्त्रालयले ट्विटरमा लेखेको छस् ‘२१ पीएलए विमानहरू ताइवानको दक्षिणी भागमा प्रवेश गरे।’
ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले चीनको सैन्य विमानको जवाफमा ताइवानले हवाई गस्ती सञ्चालन गरेको जनाएको छ ।
रेडियो चेतावनीहरू पठाइएको छ र चिनियाँ सैन्य विमानहरू ट्र्याक गर्न रक्षा मिसाइल प्रणालीहरू तैनाथ गरिएको छ।
पेलोसी ताइवान उत्रिसकेपछि चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘पेलोसीको भ्रमणले एक चीन सिद्धान्तको गम्भीर उल्लंघन भएको र यसले चीन(अमेरिका सम्बन्धको राजनीतिक जगमा गहिरो असर पुग्ने’ प्रतिक्रिया दिएको छ।
न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई इन्डो(प्यासिफिक क्षेत्रमा चीनको खतराको सामना गर्न अमेरिकी कंग्रेसको प्रतिनिधिमण्डलको भ्रमणको रूपमा हेरिएको छ।