विराटनगर जुट मिल्सको मैदानमा सोमबार भएको फाइनल खेलमा टाइब्रेकरमार्फत विराटनगर हाटखोलाको मर्निङ भेट्रान क्लबलाई स्तब्ध बनाउँदै दमक-लखनपुरले उपाधि उचालेको हो।
निर्धारित समय २-२ गोलको बराबरीमा सकिएपछि खेलको छिनोफानो गर्न टाइब्रेकरको मद्धत लिँदा पाहुना टोली दमक-लखनपुर ४-३ गोल अन्तरले विजयी बन्यो।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दुवै टिमले मध्यान्तरपछि गोल गरेका हुन्। खेलको अन्तिम समयसम्म दमक-लखनपुर २-१ गोलको स्थितिमा रहेको थियो। दमक-लखनपुरले आफूलाई ३० सेकेण्ड समाल्न नसक्दा निर्धारित समय २-२ गोलको स्थितिमा सकियो।
टाइब्रेकरमा भने हाटखोलामाथि ४-३ गोल अन्तरले हाबी बन्दै दमक-लखनपुर च्याम्पियन बनेको हो। दमक-लखनपुरका देउमान लिम्बू, विशाल राई, पुष्कर धिमाल र सुवास आङ्थुपोले गोल गरे। एलबी आलेको प्रहार गोलरक्षकको हातमा पुग्यो।
हाटखोलाका सुरेन्द्र तामाङ, अंकुर खड्गी, सुरज श्रेष्ठले गोल गरे। नवीन्द्र लिम्बूको प्रहारले विपक्षी बार भत्काउन सकेन। अन्तिममा प्रहार गरेका लाक्पा लामाको प्रहार पोष्टमाथिबाट बाहिरियो।
खेलको ४९औं मिनेटमा दमक-लखनपुरका देउमान लिम्बूले पाएको क्रसपासमा हेडमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। लगत्तै ५०औं मिनेटमा हाटखोलाका सुरेन्द्र तामाङले जावाफी गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए।