खगोल विज्ञानको अध्ययन तथा अनुसन्धानमा प्रयोग गरिने संसारको सबैभन्दा ठूलो डिजिटल क्यामेरा निर्माणको अन्तिम चरणमा पुगेको छ । एसएलएसी नेशनल एक्सीलिरेटर ल्याब्रोटरीका अन्वेषकहरूले यो क्यामेरामा काम गरिरहेका छन् । ‘लेगेसी सर्भे अफ स्पेस एण्ड टाइम’ (एलएसएसटी) नाम दिइएको यो क्यामेरा निर्माणको का अन्तिम चरणमा पुगेको छ ।
एलएसएसटी क्यामेराको आकार एउटा सानो कार जत्रो रहेको छ भने यसको तौल ३००० किलो रहेको छ । यसमा पाँच फिट चौडा फ्रन्ट लेन्स र ३२०० मेगापिक्सेलको सेन्सर रहेको छ । यसबाट उत्पादन हुने आवाज कम गर्न माइनस सय डिग्री सेल्सियस तापक्रममा यो क्यामेरा सञ्चालन गरिने बताइएको छ ।
निर्माण सम्पन्न भएपछि यो क्यामेरालाई चिलीको भेरा सी. रुबिन अब्जर्भेटरीको ‘सिमोनी सर्भे टेलिस्कोप’ को माथि राखेर सञ्चालन गरिने बताइएको छ । जहाँबाट यस क्यामेराले एक दशकको लागि रातीको समयमा आकाश कस्तो देखिनेछ भनेर अवलोकन गर्नेछ ।
यस क्यामेरालाई वैज्ञानिकहरूले ब्रह्माण्डको सबैभन्दा ठूलो रहस्य, डार्क इनर्जी र डार्क म्याटरका प्रकृतिलाई थप नजिकबाट अध्ययन गर्न प्रयोग गर्ने बताइएको छ । अनुसन्धानकर्ताहरूका अनुसार ६४ सेन्टिमिटर चौडा फोकल प्लेनले ३.५ डिग्री फिल्ड अफ भ्युसँग मेल खाने छ । जसको मद्दतबाट क्यामेराले भिन्न एक्सपोजरको साथ चन्द्रमाको ४० गुणा भन्दा बढी क्षेत्र खिच्न सक्छ।
यस क्यामेरामा विश्वको सबैभन्दा ठूलो सेन्सर बाहेक लेन्स राख्न १.५७ मिटर (पाँच फिट) भाग प्रयोग भएको छ । जस कारणले गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले यस क्यामेरालाई विश्वको सबैभन्दा ठूलो अप्टिकको रूपमा मान्यता समेत दिएको छ।
यो क्यामेराले सकृय भएर काम गर्न २७ फिट चौडा ऐनाले प्रकाश प्रतिबिम्बित गर्ने गर्दछ । त्यसपश्चात ३.२ गिगापिक्सेल डिटेक्टरले एक दशकको सर्वेक्षणमा प्रति रात १५ टेराबाइट डेटा कैद गर्ने बताइएको छ । यसरी नै यस क्यामेराले ३७ अर्ब तारा र थुप्रै आकाशगंगाहरूको अनुसन्धान गर्ने पनि बताइएको छ।
विगत सात वर्षदेखि निर्माण भइरहेको यो क्यामेरा अहिले अमेरिकाको सान फ्रान्सिस्कोमा निर्माणाधिन अवस्थामा रहेको छ । यदि योजना अनुसार सबै कुराहरु भए यो क्यामेरा २०२३ को मे महिनामा चिलीको भेरा सी. रुबिन अब्जर्भेटरीमा स्थानान्तरण गरिनेछ।
अब यस क्यामेराको लेन्समा फिल्टरहरू जडान गर्न मात्र बाँकी रहेको छ । यी फिल्टरहरु फ्रान्सको म्यासाचुसेट्स र प्रोभेन्समा निर्माण गरिएको कारण क्यामेरामा जडान गर्न बाँकी रहेको छ । यी फिल्टरहरुको जडान पश्चात क्यामेराको अन्तिम परीक्षण गरिने छ । त्यसपश्चात चार्टर्ड बोइङ ७४७ कार्गो विमानमा चिली लगिने छ । यस क्यामेराका निर्माताहरुले सन् २०२४ मा पहिलो फोटो खिच्ने अपेक्षा गरेका छन् ।