काठमाण्डाै – काठमाण्डाै महानगरपालिका वडा नम्बर ५ हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्रा सुरु भएको छ । प्रत्येक वर्ष कोजाग्रत पुर्णिमापछि मनाइने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रूपमा मानिँदै आएको पूर्ववडाध्यक्ष रमेश डङ्गोलले जानकारी दिनुभयो ।
तीननारायण एवम् कहीँ नभएको जात्रा हाँडीगाउँमा समेत भनिने यो जात्रा नगर्दा यस क्षेत्रमा प्राचीनकालदेखि चलिआएको संस्कृति नाश हुने भएकाले गएकाे वर्ष स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको उहाँले सुनाउनुभयो ।
गएको वर्षभन्दा कोरोना महामारी कम रहेकाले सहजरूपमा जात्रा गर्न लागिएको हो । देशका अरु ठाउँमा हुने जात्रा खटको गजुर उल्टो नपारि गरिने र हाँडीगाउँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो ।
मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो । नारायणको जात्रा कमलासनको तीन खट बनाएर खटको गजुरलाई उल्टो पारी घुसारेर तीन टोल घुमाएर गजुर घुसारेको ठाउँमा पूजा गरिन्छ ।
यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले खट बोक्नुपर्ने प्रचलन छ । जात्रा हेर्न हाँडीगाउँ क्षेत्रका सबै गुठियार जम्मा हुनुपर्ने नियम रहेको छ ।