Aamsanchar

नेपाली फुटबलका कर्ण, जसले प्रमाणित गरे पनि मौका पाएनन्

Author Image
शुक्रवार, माघ १४, २०७३

झापा,

बालापनको रमाइलो समयमा साथीभाइको संगतसँगै उनी पनि खाली चौरीहरू चहार्न थाले, जहाँ उनका खुट्टाहरूले अन्य साथीभाइको जस्तो चन्द्रगढीका गल्लीहरूमा झुम्राका बलहरू दौडाउन सुरु गरे। झुम्राका बलहरू खेलाउँदा खेलाउँदै बिस्तारै उनी एउटा चम्किलो खेलाडी बने। झापा चन्द्रगढीका कर्ण लिम्बु, नेपाली फुटबलमा सुपरिचित नाम हो।

जति खेल खेले उनले, ती खेलमा प्रभाव जमाएरै छाडे। यद्यपि, उनको प्रतिभा र क्षमताको सही मूल्याङ्कन भने हुन सकेन।पुहाँतु माध्यमिक स्कुल, चन्द्रगढीबाट उनले शिक्षासँगै फुटबलमा झापामा आफूलाई स्थापित गरे। उनले आफ्नो स्कुलबाट हुने प्रतियोगितामा सायदै दोस्रो हुनुपरेको थियो।

त्यसैले उनी झापाको प्रसिद्ध मुनाल क्लवमा आवद्ध भएर फुटबललाई आफ्नो जीवन बनाएर अघि बढे। मुनाल क्लवबाट फुटबल सुरु गरेपछि उनीमाथि राष्ट्रियस्तरका क्लबहरूको आँखा नपर्ने कुरै भएन। हरि खड्का, पर्वत पाण्डे जस्ता धुरन्धर खेलाडीलाई जन्माएको मुनालले कर्णलाई पनि आफ्नो काखबाट बाहिर पठायो।तिनै कर्ण, जसले फुटबल यात्रा सानै उमेरबाट सुरु गर्दै एक स्टार फुटबलर बने, तर उनको प्रतिभालाई देशले कति मौका दियो? त्यो त उनी आफैँलाई थाहा छैन। ‘मैले मौका पाऊँ भनेर कतै विन्ती बिसाइनँ, किनकि मलाई सधैँ मेरो खेलप्रति गर्व लाग्छ। मेरो ज्यू हजुर गर्ने बानी नभएर होला भन्ने लाग्छ अहिले।’ तर उनले फुटबलमा आफू स्टार भएको प्रमाणित गर्न कुनै कसर बाँकी भने राखेनन्।

उनका पछिल्ला केही वर्षयताको प्रदर्शनलाई हेर्ने हो भने उनी निर्विकल्प राष्ट्रिय टिमका खेलाडी हुन् तर उनलाई लाग्छ, सबै कुरा आफूले सोचेजस्तो मात्र कहाँ हुँदोरहेछ र! उनले फुटबलमा खेलसँगै झेल बुझे, त्यो भन्दा धेरै उनले खेलभित्रको राजनीति बुझे। त्यही सम्झँदै कर्ण भावुक बने। उनलाई जीवनमा धेरै गर्न मन छ। जब उनी आफ्नो जन्मभूमि भन्दा केही किलोमिटर पारि पुग्छन्, त्यहाँ उनी भन्दा धेरै कमजोर खेलाडीको चुरीफुरी देखेर आफुलाई निकै अभागी देख्छन्। तर उनले फुटबलमा हार मानेका भने छैनन्। देशले मूल्याङ्कन नगरे पनि कमाइको आधार फुटबल नै हो उनको। त्यसैले पनि फुटबल उनको जीवन हो।

त्यही भएर पनि अहिले राष्ट्रिय तथा अन्तर्रष्ट्रिय गोल्ड कपहरूमा सफल खेलाडीका रूपमा रहेका छन् कर्ण। लिग नभएसँगै उनलाई आर्थिक समस्या पर्ने नै भयो तर भारतमा हुने प्रतियोगिता तथा देशमा नै हुने खेलहरूमा जनाउने सहभागिताले जीवन धान्दै आएका छन्। उनी आफू सहभागी टिमलाई फाइनल जिताउनकै लागि मैदानमा दिलोज्यान लगाउँछन्। त्यही भएर कर्णलाई खेल अवधिभर भित्र्याउन पनि क्लवहरू मरीहत्ते गर्ने गर्छन्। क्लव करिअरमा उनी सफल रहे तर उनले देशका लागि खेल्ने मौकाका रूपमा डेब्यु मात्र रह्यो। २०६९/०७० को सहिद स्मारक लिगमा ११ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका कर्ण मच्छिन्द्र फुटबल क्लवलाई उपविजेता बनाउन महत्त्वपूर्ण भूमिका खेले। कर्णले २०७०/०७१ को राष्ट्रिय लिगमा पनि प्रभावशाली प्रदर्शन गर्दै अघिल्लो वर्ष भन्दा गोलसंख्या बढाए।

२०७१ मा ८ टिमबीच ‘होम एण्ड अवे’ प्रणालीमा सम्पन्न राष्ट्रिय लिगमा थ्री स्टार च्याम्पियन बन्दा मोफसलमा तहल्का मच्चाएको झापा ११ उपविजेता बन्यो। यसमा १३ गोलका साथमा कर्ण लिम्बु सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा रहन सफल भए। उनै कर्णको शानदार प्रदर्शनमा २०६९/०७० को लिगमा मछिन्द्र दमदार प्रदर्शन गर्दै उपविजेता बन्यो। नेपालमै सर्वाधिक सफल मानिने मनाङ भन्दा १ अङ्कले पछि रहँदै च्याम्पियन बन्न असफल भयो। यसरी कर्ण लिम्बुले आफूलाई फुटबलमा जबर्जस्त रूपमा स्थापित गराई छाडे।फुटबलले उनलाई जति साथ दिन्छ, त्यो अवधिभर सक्रिय फुटबलबाट टाढा हुने उनको कुनै योजना छैन।

तर उनले राष्ट्रिय टिममा मौका भन्दा पनि अब प्रदर्शन देखाउन पाए मात्र सहभागी हुने स्पष्ट अडान लिएका छन्। उनलाई विश्वास त छैन पुनः देशका लागि मैदानमा उत्रन पाउने, तर उनी आफ्नो फुटबल भविष्यलाई उज्ज्वल बनाउन दिलोज्यान दिएर अभ्यासमा अझै पनि खटिरहेका छन्। ‘मलाई फुटबलले माया गरेको छ। मैले पनि उसलाई उति नै न्याय गरेको छु’, कर्ण भन्छन्, ‘त्यही भएर होला पहाडका भित्ताहरू हुन् या तराईका फाँटहरू, जहाँ गएर खेले पनि गम्भीर ‘इन्जुरी’ खेप्नुपरेको छैन।’ परिवारको जिम्मेवारीले डरलाई ढाक्नु नेपाली परिवारको बाध्यता हो।

त्यस बाध्यताबाट कर्ण पनि कसरी टाढा रहन सक्छन र ! समय सधैँ एकैनास रहँदैन। रोजिरोटीका लागि विभिन्न क्लबाट खेल्दा सबैभन्दा धेरै इन्जुरीको खतरा हुन्छ। तर खेलहरू समयमै भइदिने हो भने आफू जस्तालाई ठूलै राहत हुने उनको धारणा छ। ‘समयमै लिग र राष्ट्रिय प्रतियोगिताहरू हुने हो भने हामीले पनि कुन क्लबले अफर गर्ला र कहाँ गएर खेलौँला भन्ने आशमा बस्नुपर्दैन थियो’, कर्णको गुनासो छ। उनले राष्ट्रियस्तरमा आफ्ना डाइहार्ट समर्थक पाएका छन्। फुटबलमा उनलाई सम्मान गर्नेहरूको कमी छैन।

त्यही भएर उनका समर्थक र उनलाई अवसर दिनेप्रति श्रद्धाले शिर निहुरिन्छ उनको। ‘मेरो मात्र एकोहोरो ढिपी कहाँ हो र’, कर्णको प्रष्टोक्ति छ, ‘मेरा समर्थक र परिवार, साथीभाइको साथले मलाई ऊर्जा दिन्छ। गोल गर्ने प्रेरणा दिन्छ।’ त्यही भएर पनि उनी जति स्तब्ध भए पनि फुटबलबाट टाढा हुने मन कहिल्यै आएन रे!जब उनले राष्ट्रिय लिगहरूमा उत्कृष्ट प्रदर्शन गरे, दबाब थेग्नका लागि पनि उनलाई तत्कालीन राष्ट्रिय टिममा संलग्न गराइयो। त्यही भएर उनले सन् २०१४ मा यमनविरुद्धको खेलका क्रममा ७५औँ मिनेटमा सब्स्टिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गर्दै पहिलो पटक राष्ट्रिय टिममा डेब्यु गरेका थिए।

त्यसपछि महत्त्वपूर्ण अवसरका रूपमा हेरिएको विश्व कप छनोट चरणको खेलमा भारतविरुद्ध उनलाई टिममा समावेश गरिएन भने तत्कालीन नेपाली टिमका मुख्य प्रशिक्षक प्याट्रिक असेम्सले सन् २०१५ को साफ च्याम्पियनसिपको महत्त्वपूर्ण मौकाबाट पनि लिम्बुको नाम हटाएका थिए। उनले फुटबल करिअरको व्यावसायिक अध्याय एनआरटी क्लबबाट सुरु गरे। उनले एनआरटीबाट ए डिभिजन यात्रा तय गरेपछि फेरि पछि फर्किनुपरेको छैन तर लिग समयमा नहुँदा उनलाई जीवन धान्न साँच्चिकै सकस परेको छ। त्यही भएर जीवन गुजाराको अर्को पाटो आफ्नै जन्मभूमि चन्द्रगढीमा स्पोर्ट्स किट्सहरूको पसल सुरु गरेका छन्। उनी भन्छन्, ‘बाँच्नका लागि केही न केही विकल्प त गर्नै पर्‍यो।

त्यही भएर पसल सुरु गरेको हो।’ उनले फुटबलमै जीवन बिताउने सोचेका पनि हुन् तर भन्छन्, ‘त्यति मात्रले जीवन र परिवार कहाँ चलाउन सकिने रहेछ र !’सधैँ मन्द मुस्कान हाँसिरहने कर्णलाई पसलमा बसिरहँदा पनि खेल खेल्ने अफरहरू आइरहेका थिए। तर उनी कसैलाई पनि नमीठो जवाफ दिँदैनन्।

आफूअनुकूल र टिम हेरेर प्रस्तावलाई स्वीकार्ने वा नस्वीकार्ने गर्छन्। आफ्नो गाउँमा साहुजी र दुई छोरीका प्यारो बाबा बनेर पनि आफ्नो भूमिकामा उत्तिकै सफल छन्। आफ्नो काम र जिम्मेवारीप्रति महाभारतका कर्ण जस्तै स्पष्ट र अडानिला छन्। उनको अघि कृष्ण नै किन नआउन्, आफ्नो अडानलाई जोगाइराख्छन्, जुन विश्वासले उनको मुहारमा फेरि पनि खुसीको प्रकाश छाएको छ। थाहाखबरबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 138

प्रतिक्रिया (०)

सम्बन्धित खबर