काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ कतार सुरु हुन अब दुई साता भन्दा पनि कम समय बाँकी छ । पहिलो पटक जाडो मौसममा हुन लागेको विश्वकप फुटबल विश्वका अधिकांश क्षेत्रमा सञ्चालन भइरहेको क्लब लिग बीचमा स्थगित गरेर हुन लागेको छ ।
नोभेम्बर २० मा कतारमा विश्वकप सुरु हुँदैछ भने मुख्यतः युरोपका क्लब लिग खेलहरु त्यसको एक साता अघि मात्र स्थगित हुनेछ । युरोपका शीर्ष लिगका खेलहरु नोभेम्बर १२र१३ पछि ब्रेक गरिनेछ । विश्वकप डिसेम्बर १८ मा सकिनेछ र त्यसको एक सातापछि लिगका खेलहरु पुनः सुरु हुनेछन् ।
त्यसैले यस पटक विश्वकप फुटबल यसअघिका भन्दा फरक हुनेछ ।
सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकप फुटबलको २२औं संस्करण हो ।
पहिलो पटक मध्यपूर्वी देशमा हुन लागेको विश्वकपको प्रत्यक्ष प्रशारण हेर्न समयका हिसावले नेपालीलाई पनि सहज हुनेछ ।
उदघाटन खेल समूह ‘ए’मा रहेका आयोजक कतार र इक्वेडरबीच अल खोरस्थित अल बायत स्टेडियममा नोभेम्बर २० मा हुनेछ । पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतारले विश्वकपका लागि विभिन्न ८ स्टेडियम तयार पारेको छ ।
पहिलो देखि ६१ औं वरीयतासम्मको टिम
कतारमा विश्वकपका लागि विश्वका उत्कृष्ट ३२ राष्ट्र छनोट चरण पार गरेका छानिएका हुन् । जसमा फिफाको शीर्ष वरीयतामा रहेको ब्राजिल देखि ६१ औ वरीयतामा रहेको घानासम्म छ । विश्वकपमा छनोट भएका मध्ये घाना सबैभन्दा तल्लो वरीयताको टोली हो ।
कतार विश्वकप खेल्ने टिमको वरियता शीर्ष ६१ भित्रको रहेको छ । शीर्ष दश वरीयता भित्र रहेका मध्ये इटली भने यस पटक छनोट हुन सकेको छैन ।
एसियाबाट पहिलो पटक ६ राष्ट्र
विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्दै छन् ।
आयोजक कतार आयोजकले नाताले सिधै छनोट हुँदा जापान, दक्षिण कोरिया, इरान र साउदी अरेबियाले छनोट चरण पार गरेका हुन् । अष्ट्रेलिया अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै विश्वकपमा छनोट भएको हो । अष्ट्रेलिया ओसियाना क्षेत्रमा रहे पनि पछिल्लो समय एएफसीको सदस्यता लिएर एसियाबाट खेल्ने गरेको छ । विश्वकपमा पहिलो पटक एसियाबाट कीर्तिमानी ६ टिमले खेल्न लागेको हो ।
यसअघि २०१८ मा रुसमा भएको विश्वकपमा एसियाबाट ५ टिमले प्रतिस्पर्धा गरेका थिए । अहिलेका आयोजक कतार बाहेक बाँकी पाँच टिमले रुसमा खेलेका थिए ।
कतार विश्वकपमा युरोपबाट सबैभन्दा धेरै १३ टिमले खेल्दैछन् । यस्तै अफ्रिकाबाट ५, दक्षिण अमेरिका र उत्तर अमेरिकाबाट समान ४ टिमले कतार विश्वकप खेल्नेछन् ।
कतार पहिलो पटक खेल्दै
विश्वकप फुटबलको इतिहास झण्डै एक शताब्दी पुग्न लाग्दा एसिया महादेशमा भर्खर दोस्रो पटक विश्वकप आयोजना हुन लागेको छ । त्यसमा पनि मध्यपूर्वी एसियामा पहिलो पटक विश्वकप आयोजना हुँदैछ । पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतार विश्वकपमा पनि डेब्यू गर्दैछ ।
सन् २०१० मा फिफाले कतारलाई विश्वकप आयोजनाको अधिकार प्राप्त गरेको घोषणा गरेको थियो । कतारलाई विश्वकप आयोजनाको अधिकार दिँदा भ्रष्टचार भएको आरोप समेत लाग्दै आएको थियो । यस्तै कतारमा विश्वकपका लागि स्टेडियम निर्माण गर्दा हजारौं कामदारको निधन भएको भन्दै यसको आलोचनासमेत हुँदै आएको छ । तर, यतिबेला कतार विश्वकपलाई जसरी भए पनि सफलतापूर्वक सम्पन्न गर्न लागिपरेको छ ।
सबै विश्वकप खेल्ने ब्राजिल एक्लो टिम
विश्वकप फुटबल भन्ने बित्तिकै धेरैको दिमाखमा आइराख्ने देश हो– ब्राजिल । फुटबल, ब्राजिल अनि महान खेलाडी पेले पर्यावाचीको रुपमा रहेको छ ।
ब्राजिलको नाममा अनौठो कीर्तिमान छ । फिफा विश्वकपका लागि छनोट चरण पार गर्नुपर्ने हुन्छ । अहिलेसम्म २१ पटक विश्वकप भएको छ र ती सबैमा छनोट हुने र खेल्ने ब्राजिल एक्लो टिम हो । यस्तै ब्राजिलले सर्वाधिक ५ पटक विश्वकप जितेको छ । पेलेले तीन पटक विश्वकप जितेका छन् ।
ब्राजिल २२औं पटक विश्वकप खेल्दैछ । ब्राजिलपछि जर्मनी ९सुरुमा पश्चिम जर्मनी० ले १९ पटक विश्वकप खेलेको छ । यस्तै अर्जेन्टिनाले १७ र मेक्सिकोले १६ पटक विश्वपटक खेलेका छन् ।
आयोजक कतारले विश्वकपमा डेब्यू गर्दा क्यानडा दोस्रो पटक ९सन् १९८६ पछि पहिलो० विश्वकपमा छनोट भएको छ । यस्तै २००२ र २०१८ मा विश्वकप खेलेको सेनेगल तेस्रो पटक छनोट भएको छ ।
चार पटकको च्याम्पियन इटली छनोट नै भएन
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको २११ सदस्य राष्ट्र छन् । त्यसमध्ये उत्कृष्ट ३२ राष्ट्र मात्र विश्वकपमा छनोट हुन्छन् । जसले गर्दा केही नाम चलेका ठूला राष्ट्र समेत विश्वकपमा छनोट हुन असफल हुन्छन् ।
कतार विश्वकपमा नदेखिने सबैऐन्दा ‘ठूलो’ राष्ट्र इटली हो । युरोपियन राष्ट्र इटलीले ब्राजिलपछि ४ पटक विश्वकप उपाधि जितिसकेको छ । इटलीले पछिल्लो पटक सन् २००६ मा जर्मनीमा भएको विश्वकप जितेको थियो ।
तर, गत वर्ष युरोकपको उपाधि जितेको इटली कतार विश्वकपमा भने छनोट हुन सकेन । उसले विश्वकपका लागि युरोपेली क्षेत्रको छनोटको प्लेअफमा नर्थ मेसेडोनियासँग अप्रत्यासित रुपमा हार ब्यहोरेको थियो ।
यस्तो छ कतार विश्वकपकोसमूह विभाजन
समूह ‘ए’- कतार, इक्वेडर, सेनेगल, नेदरल्याण्ड्स
समूह ‘बी’- इंग्ल्याण्ड, इरान, अमेरिका, वेल्स
समूह ‘सी’- अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्याण्ड
समूह ‘डी’- फ्रान्स, अष्ट्रेलिया, डेनमार्क, ट्युनिसिया
समूह ‘ई’- स्पेन, कोस्टारिका, जर्मनी, जापान
समूह ‘एफ’- बेल्जियम, क्यानडा, मोरोक्को, क्रोएसिया
समूह ‘जी’- ब्राजिल, सर्बिया, स्वीट्जरल्याण्ड, क्यामरुन
समूह ‘एच’- पोर्चुगल, घाना, उरुग्वे, दक्षिण कोरिया
श्रोत: अनलाइन खबर ।