तर, अहिले करिब ३ सय मेगावाटको हाराहारीमा मात्र विद्युत् निर्यात गर्न सकिएको प्रवक्ता भट्टराईले जानकारी दिए। वर्षा सकिएसँगै विशेषत निजी प्रवद्र्धकको उत्पादन घट्न थालेकोले स्वीकृति पाए जति निर्यात गर्न नसकिने उनले बताए।
निजी प्रवद्र्धकका आयोजना नदी प्रवाहमा आधारित भएकोले हिउँदयाममा खोलामा पानीको सतह घट्नेबित्तिकै उत्पादन पनि घट्छ। भट्टराईका अनुसार खोलामा पानीको मात्रा घट्न थालेसँगै करिब २० प्रतिशतले उत्पादनमा कटौती हुन सुरु गरिसकेको छ। प्रायः पूर्वी नेपालका आयोजनाहरूको विद्युत् उत्पादन क्षमतामा ह्रास आउन थालेको छ। हाल विद्युत्को आन्तरिक उच्च माग १५६९ मेगावाट छ भने जडित क्षमता २२ मेगावाटभन्दा बढी छ।
जाडो सुरु भएसँगै उत्पादन घट्न थालेको र आन्तरिक माग बढ्न थालेकाले अहिले ३ सय मेगावाटको हाराहारीमा मात्र विद्युत् निर्यात भइरहेको प्रवक्ता भट्टराईले बताए। ‘अहिलेको अवस्थामा दिनको ७२ सय मेगावाट आवरसम्म निर्यात गर्न सक्छौं,’ उनले भने।
प्राधिकरणले गत भदौमा नै अतिरिक्त भएको वर्षायामको थप १११ मेगावाट विद्युत् डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको थियो। ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखुखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमेको विद्युत् गृहबाट उत्पादित १११.८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव भारतीय प्राधिकरणमा पेस गरिएको थियो। जसमध्ये दुई आयोजनाले मात्र कात्तिकमा आएर स्वीकृति पाएका हुन्। प्राधिकरणले निजी क्षेत्रले निर्माण गरेका २९.०४ मेगावाटको लिखुखोला ए, २५ मेगावाटको काबेली बी–१, २२ मेगावाटको माईखोला, १४.९ मेगावाटको हेवाखोला ए र १० मेगावाटको तल्लो मोदी–१ जलविद्युत् गृहबाट उत्पादित १००.९ मेगावाट विद्युत् निर्यातको प्रस्ताव पनि गरेको थियो। गत वर्षको कात्तिकमा पहिलो चरणमा प्राधिकरणको स्वामित्वमा नुवाकोटमा सञ्चालित २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट विद्युत् गृहबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय ऊर्जा एक्सचेन्जमा बिक्री सुरु भएको थियो।