काठमाडौँ । नेपाली ब्याटरहरू यूएईसँगको पहिलो दुई एकदिवसीय अन्तर्राष्ट्रियमा रन बनाउनमै संघर्षरत रहे । शुक्रबारको स्थिति ठीक फरक थियो । आसिफ शेख र ज्ञानेन्द्र मल्लले शतकीय साझेदारी गरेपछि नेपालले यूएईविरुद्धको तेस्रो एकदिवसीय खेलमा ६ विकेटको विजय हात पार्यो ।
नेपालले टस हारेपछि ब्याटिङमा निम्त्याइएको यूएईले त्रिवि क्रिकेट मैदानमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई १ सय ७६ रनमात्र बनाउन सकेको थियो । आसिफ र ज्ञानेन्द्रले दोस्रो विकेटमा १ सय २२ रनको साझेदारी गरेपछि नेपालले ४०।१ ओभरमा १ सय ८० रन बनाउँदै विजय लक्ष्य पूरा गर्यो ।
यससँगै नेपालले तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला २–१ ले जितेको छ । पहिलो खेलमा यूएईसँग ८४ रनले घुँडा टेकेको नेपालले दोस्रो खेलमा ३ विकेटको रोमाञ्चक जित हात पार्दै शृंखला बराबरीमा ल्याएको थियो । सन् २०१९ मा पनि नेपालले दुबईमा गएर तीन खेलको शृंखला खेल्दा पहिलो खेलमा पराजित भए पनि अन्त्यमा २–१ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।