Aamsanchar

छैटौं पटक निर्वाचित भए ओली

Author Image
बुधवार, मंसिर ७, २०७९

झापा- बिर्तामोड — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनी गठबन्धनअन्तर्गत कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८५७४ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौं पटक निर्वाचित भएका हुन् ।

बुधबार सम्पन्न मत गणनामा ओलीले ५२३१५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका अधिकारीले २३७४१ मत मात्र पाए । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले २०७४ को निर्वाचनमा पनि अधिकारीलाई नै पराजित गरि प्रतिनिधिसभामा निर्वाचित भएका थिए । झापामा एमालेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संग चुनावी तालमेल गरेको थियो ।

ओली २०६४ को पहिलो संविधानसभा चुनावबाहेक २०४८ यताका सबै चुनावमा झापाबाट निर्वाचित हुँदै आएका छन् । उनी ०४८, ०५१ र ०५६ को संसदीय निर्वाचनमा झापा क्षेत्र नं. ६ बाट निर्वाचित भएका थिए । ओली ०५६ मै झापा २ बाट समेत निर्वाचित भएका थिए ।

ओली ०६४ को संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं. ७ बाट पराजित भएका थिए । उक्त निर्वाचनमा माओवादीका विश्वदीप लिङ्देन निर्वाचित भएका थिए । ०७० मा संविधानसभाको दोस्रो निर्वाचनमा ओली झापा क्षेत्र नं. ७ बाट निर्वाचित भएका थिए । राज्य पुर्नसंरचनापछि साविकको ६ र ७ नम्बर हाल झापा ५ भएको छ । झापा ५ बाट ०७४ उनी सर्वाधिक मतकासाथ निर्वाचित भएका थिए । १ लाख ५४ हजार दुई सय ८९ मतदाता रहेको यो क्षेत्रमा १ लाख २ हजार १ सय ५० मत खसेको थियो ।

Views: 281

प्रतिक्रिया (०)

सम्बन्धित खबर