Aamsanchar

कार्यकालभरि कुनै पनि सम्मान तथा पुरस्कार नलिनेसहित रवि लामिछानेको १० बुँदे उद्घोष

Author Image
शनिवार, मंसिर १०, २०७९

काठमाडौं – चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित रवि लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान तथा पुरस्कार नलिने उद्घोष गरेका छन् । उनले शनिबार बिहान फेसबुक पेजमार्फत यस्तो घोषणा गरेका हुन् ।

उनले निर्वाचनमा आफ्नो चुनावी खर्च करिब १२ लाख रुपैयाँ भएको पनि उल्लेख गरेका छन् । केही दिन पार्टीको कामले काठमाडौं आउने र त्यसपछि चितवनमा नै कार्यालय सञ्चालनमा ल्याएर जनताको सेवामा लाग्ने उनले बताएका छन् ।

रवि लामिछानेको १० बुँदे उद्घोष पढ्नोस्–

आदरणीय चितवन–२ का आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरू,
आजबाट विजयको खुसीयाली मनाउने सम्पूर्ण कार्यक्रमहरू सकिएको जानकारी गराउन चाहन्छु। सबै माध्यमबाट तपाईंले दिनुभएका शुभकामनाहरूलाई यहीँबाट एकमुष्ट धन्यवाद दिन चाहन्छु । आफ्ना केही कुरा बुँदागत रूपमा  राखेँ ।१.मेरो चुनावी खर्च ११ लाख ८१  जहार ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछिसम्मका लागि सोचेर खरिद गरिएका अतिरिक्त कार्यालय सामग्रीहरूको हिसाब जोडिएको छैन)
२. कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु ।
३. सबै संघ–संस्थाहरूको हकहितको नीतिगत काममा दिलोज्यानले लाग्नेछु । तर, ती कार्यक्रमहरूको उद्घाटन, आसनग्रहण  भाषणहरूमा म सहभागी हुने छैन । तर, आफ्नो साटो एकजना प्रतिनिधि अनिवार्य  पठाउनेछु। (पहिले नै वाचा गरेका सातवटा कार्यक्रममा चाहिँ जानैपर्नेछ । ती कार्यक्रमहरूमा एक घण्टाभन्दा बढी समय लगाउने छैन)
४. भोजभतेर, पारिवारिक उत्सव, जमघट आदिमा सहभागी हुन सकिनँ भने माफ गरिदिनुहोला।
५. मिडियाहरूमा अन्तर्वार्ता दिने र पार्टीका नीतिहरूबारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ। प्रवक्ता तथा सूचना अधिकारीहरूले यसमा सहयोग गर्नुहुनेछ।
६. प्रत्येक ४/४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने म आफैँ उपस्थित हुनेछु ।
७. कुनै पनि रेस्टुरेन्ट, होटेल, सिनेमा हल, पार्किङ आदिको  सेवा सित्तैमा लिने छैन । अरू ग्राहकलाई झैँ समान मूल्य तिराउनुहोला। कुनै किसिमका उपहार, मायाको चिनोहरूमा एक पैसा पनि खर्च नगर्नु होला।
८. औपचारिक शपथग्रहणको दिन वा त्यसअगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु।
९. शपथग्रहणलगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु । त्यतिन्जेलसम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा  चितवन–११ स्थित घरमा  राखिएको ‘भन्नुहोस् के सेवा गरौँ’ लेखिएको बाकसमा खसाउनुहोला।
१०. लामोलामो राजनीतिक छ्लफलहरू भन्दा सुशासन, समृद्धिका अर्थपूर्ण छ्लफलहरूमा मेरो रुचि रहनेछ। आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता, समुदायमा युवाको संलग्नता, महिला सशिक्तकरणजस्ता विषयका सटिक र अर्थपूर्ण बहसहरूमा सहभागीहुन म खोजीखोजी आउनेछु ।

अन्त्यमा,
राजनीतिक भेटघाट र पार्टीको महत्त्वपूर्ण कामका लागि आज साँझ  काठमाडौँ जाँदै छु।  केही दिनमा नै चितवन–२ मा आफ्नो कार्यालय खोलेर तपाईंहरूको सेवामा समर्पित हुनेछु। पूर्ण चुनावी नतिजा र  संसदीय प्रक्रिया नस्किउन्जेल धैर्यपूर्वक बसिदिनुहोला। म सम्भव भएसम्म धेरैभन्दा धेरै समय आफ्नो चुनावी क्षेत्रमा नै रहने वाचा गर्दछु । हामी आजबाटै काममा लाग्यौँ ।

Views: 217

प्रतिक्रिया (०)

सम्बन्धित खबर