Aamsanchar

आबाल ब्रह्मचारी षडानन्दले शिक्षाका लागि गर्नु भएका पहलहरू

Author Image
सोमवार, मंसिर १२, २०७९

नेपालका प्रसिद्ध समाजसेवी, आबाल ब्रह्मचारी, साधु तथा शिक्षा प्रेमी षडानन्द अधिकारी अर्थात् बाला गुरु षडानन्दको जन्म आजको दिन भोजपुर जिल्लामा भएको थियो । भोजपुरको दिङ्ला गडी गाउँमा १९८२ सालमा बाला गुरु षडानन्दको जन्म भएको हो ।

पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणी अधिकारीको कान्छो पुत्रका रूपमा जन्मिनुभएका षडानन्द पछि गएर आबाल ब्रह्मचारी गुरु षडानन्दको नामले प्रसिद्ध हुनु भएको हो । उहाँ जन्मिँदा उहाँका बाबु लक्ष्मी नारायणको मृत्यु भइसकेको थियो ।

शिक्षाका लागि गर्नु भएका पहलहरू
उहाँले पूर्वी नेपालमा शिक्षाका लागि गर्नु भएका पहलहरू अतुलनीय रहेका छन् । तत्कालीन समयमा राणा शासनका कारण नेपालमा सर्वसाधारण जनताका छोराछोरी पढ्ने भन्ने थिएन । अत्यन्त सीमित व्यक्तिहरूले मात्र विद्यालयसम्म जान पाउँथे । त्यो समयमा भोजपुरमा संस्कृत पाठशाला निर्माण गरेर गुरु षडानन्दले पूर्वी नेपालमा शिक्षाको बिउ रोप्नु भएको थियो ।

अत्यन्त दुःखले शिक्षा आर्जन गर्नुभएका षडानन्दले आफ्नो जीवनमा कठोर तपस्या गरेर योग साधना, अष्टांगयोग साधक तथा पूर्वी दर्शनका ज्ञाताको रूपमा आफूलाई स्थापित गराउनु भयो ।

उहाँले कठोर तपस्याले उहाँलाई दैवी शक्तिको उपहार पनि मिलेको विश्वास गरिन्छ । पछि उहाँलाई श्री १०८ को उपाधिले समेत सम्मान गरिएको थियो । उहाँको सम्मानमा भोजपुर जिल्लामा एउटा नगरपालिकाको नाम षडानन्द नगरपालिका राखिएको छ । उहाँको सम्मानस्वरुप २०५१ सालमा नै नेपालमा हुलाक टिकट सुरु गरिएको थियो ।
व्रतबन्ध गरे लगत्तै जनकपुरमा गएर बाला गुरु षडानन्दले संस्कृतको अध्ययन गर्नुभएको थियो । जनकपुरमा रहँदा संस्कृतका धुरन्धर विद्वानहरूसँग उहाँको सान्निध्य रहेको बताइन्छ ।

त्यहाँबाट फर्किएपछि १९३२ साल चैत शुक्ल राम नवमी सोमबारको दिन बाला गुरु षडानन्दले दिङ्लामा नर्मदेश्वर शिव मन्दिर निर्माण गर्नुभएको थियो । र, त्यहाँ नै विद्यालय स्थापना गरेर आफैँले अध्यापन कार्य सञ्चालन गर्नु भएको थियो ।

भोजपुरमा सती प्रथाको अन्त्य, छुवाछुतको विरोध गरेर गुरु षडानन्दले समाज सुधारमा पनि ठुलो योगदान गर्नु भएको छ ।

१९६६ सालमा धर्म पत्रिका मार्फत आफ्नो सिर्जना प्रकाशित गरी विद्यालयको सञ्चालन, व्यवस्थापन तथा मन्दिरको पूजापाठ, मेला पर्व आदि सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाएपछि उहाँ काठमाडौँ, टेकुको पचली घाटमा अवस्थित आश्रममा फर्किनु भएको थियो । १९७३ सालको ज्येष्ठ शुक्ल त्रयोदशीका दिन योग साधनामा रहँदा रहँदै उहाँ ब्रह्म लीन हुनु भएको मानिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 323

प्रतिक्रिया (०)

सम्बन्धित खबर