काठमाडौं – बुर्नो फर्नान्डेजको दुई गोल सहयोगमा पूर्व च्याम्पियन उरुग्वेलाई हराउँदै पोर्चुगलले फिफा विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
दुवै टिमले स्तरीय खेलको नमूना प्रस्तुत गरेका थिए । तर, गोल दोस्रो हाफमा मात्र सम्भव भयो । ५४औं मिनेटमा बुर्नो फर्नान्डेजले गरेको क्रस उरुग्वेका गोलरक्षक सर्जियो रोचेटलाई छक्याउँदै गोल भयो ।सुपरस्टार क्रिस्टियानो रोनाल्डोले बल आफ्नो टाउकोलाई छोएर गोल भएको दावी गरे पनि म्यानचेस्टर युनाइटेडका मिडफिल्डर बुर्नोले नै गोलकर्ताको मान्यता पाए ।खेलमा पोर्चुगल हावी भए पनि उरुग्वेले बराबरीको केहि अवसर गुमाएको थियो । पहिलो हाफमा रोड्रिगो बेन्टाकरको उत्कृष्ट प्रहार पोर्चुगिज गोलरक्षक डिओगो कोस्टाले बचाएका थिए । दोस्रो हाफमा म्याक्सी गोमेजको प्रहार पोष्टमा लागेपछि उरुग्वेले बराबरीको सुन्दर मौका गुमाएको थियो ।इन्जूरी समयमा पोर्चुगलले पेनाल्टी पायो । भिडियो असिस्टेन्ट रेफ्री (भीएआर)ले उरुग्वेका जोसे जिमिनेजले बक्सभित्र ह्याण्ड गरेको भन्दै दिएको पेनाल्टीलाई बुर्नोले गोलमा परिणत गरेका थिए ।खेलको अन्तिम सेकेण्डमा बुर्नो आफ्नो पहिलो विश्वकप ह्याट्रिकबाट चुके । उनको प्रहार पोष्टमा लागेर फर्किएको थियो ।
यो खेलको दोस्रो हाफमा बहुरंगी झण्डासहित एक व्यक्ति मैदान प्रवेश गरेका थिए । उनले सेभ युक्रेन, इरानी महिलाका लागि सम्मानजस्ता नारा लेखिएको टी-शर्ट लगाएका थिए ।
यो हारपछि दुईपल्ट विश्वकप जितेको उरुग्वे यसपल्ट समूह चरणबाटै घर फर्किने खतरा बढेको छ । नकआउट चरणमा प्रवेश पाउन उरुग्वेले समूहको अन्तिम खेलमा घानालाई पराजित गर्नुपर्नेछ भने पोर्चुगलले दक्षिण कोरियालाई हराउनुपर्नेछ ।