Aamsanchar

अर्जेन्टिनाका मेसीले पेनाल्टीमा गोल गर्न चुकेको खेलमा पोल्यान्ड २–० ले पराजित, दुबै टाेली अन्तिम–१६ मा

Author Image
बिहिवार, मंसिर १५, २०७९

काठमाडौं – लियोनल मेसी पेनाल्टीमा गोल गर्न चुकेको खेलमा अर्जेन्टिनाले बुधबार राति पोल्यान्डलाई २–० ले हराउँदै कतार विश्वकपको अन्तिम–१६ मा स्थान पक्का गरेको छ ।

मेसीले ३९औँ मिनेटमा पाएको पेनान्टी अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् । मेसीको प्रहारलाई पोल्यान्डका गोलकिपर वोइच चेजनीले बचाइदिएका थिए । जारी विश्वकपमा चेजनीले पेनाल्टी बचाएको यो दोस्रोपटक हो । यसअघि साउदी अरबविरुद्ध पनि चेजनीले सलिम अल दासरीको पेनाल्टी बचाइदिएका थिए ।

जित्नै पर्ने दबाबमा रहेको अर्जेन्टिनाले ४६औँ मिनेटमा एलेक्सिस म्याक–एलिस्टरको गोलबाट अग्रता लिएको थियो । ६७औँ मिनेटमा युलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए ।

अर्जेन्टिनाले समूह चरणको अन्तिम खेलमा ५ खेलाडी परिवर्तन गरेको थियो । अर्जेन्टिनाका प्रशिक्षक लियानल स्कालोनीले लाउटारो मार्टिनेजलाई बेन्चमा राखेर मेक्सिकोविरुद्ध गोल गरेका इन्जो फर्नान्डेजलाई पहिलो रोजाइमा राखेका थिए ।

मेक्सिकोविरुद्ध खेलेको टिमका इमिलियानो मार्टिनेज, निकोलस ओटामेन्डी, रोड्रिगो डी पाउल, मार्कोस अकुना, एलेक्सिस म्याक एलिस्टर, एन्जेल डी मारिया र लियोन मेसीले मात्र निरन्तरता पाएका थिए । मार्टिनेज, लिसान्द्रो मार्टिनेज, गोन्जालो मोन्टियल र गुइडो रोड्रिग्वेजको स्थानमा नाहेल मोलिना, क्रिष्टियन रोमेरो, फर्नान्डेज र युलियन अल्भारेजले पहिलो रोजाईमा स्थान बनाएका थिए ।

पोल्यान्डले भने एक खेलाडी परिवर्तन गरेको थियो । साउदी अरबविरुद्ध खेलेको टिमका अर्काडिउज मिलिकको स्थानमा कारोल स्विडेरस्कीलाई मौका दिइएको थियो ।

जितसँगै अर्जेन्टिना समूह ‘सी’बाट विजेता बन्दै अन्तिम–१६ मा स्थान बनाउन सफल भयो । हारका बाबजुद पोल्यान्डले पनि अन्तिम–१६ मा स्थान पक्का गरेको छ ।

यस समूहमा अर्जेन्टिनाले ६ अंक जोडेको छ । पोल्यान्ड र मेक्सिकोको समान चार अंक भए पनि गोल अन्तरमा पोल्यान्ड अगाडि भएको हो । मेक्सिकोले आजै सम्पन्न खेलमा साउदी अरबलाई २–१ ले पराजित गरेको थियो । १९९४ यता लगातार अन्तिम–१६ मा स्थान बनाउन सफल मेक्सिको यसपटक भने समूह चरणबाट बाहिरिएको छ ।

पहिलो खेलमा साउदी अरबसँग २–१ ले पराजित भएपछि अर्जेन्टिनाको यात्रा कठिन बनेको थियो । तर, बाँकी दुई खेलमा विजय हासिल गरेपछि मेसीको अर्जेन्टिना समूह विजेता बन्दै अन्तिम–१६ मा स्थान बनाउन सफल भएको छ ।

अर्जेन्टिनाले अब समूह ‘डी’को उपविजेता अस्ट्रेलियाविरुद्ध खेल्नेछ भने पोल्यान्डले समूह ‘डी’को विजेता फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । आजै भएको खेलमा अस्ट्रेलियाले डेनमार्कलाई १–० ले हराएको थियो । फ्रान्स ट्युनिसियासँग १–० ले पराजित भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 180

प्रतिक्रिया (०)

सम्बन्धित खबर