

इलाम : नेकपा एमाले इलामले पूर्व प्रधानमन्त्री झलनाथ खनालले जनतमतको आधारमा नभई जालझेल र षडयन्त्र गरेर चुनाव जित्ने योजना असफल भएको बताएको छ। नेकपा एमाले इलाम क्षेत्र नं १ निर्वाचन परिचाल कमिटीका संयोजक उदयबहादुर राईले विज्ञप्ति जारी गर्दै खनालले बम आतंक, मतपेटिका साट्न प्रयास गरेर निर्वाचन जित्ने दुश्प्रयास गरे पनि सफल नभएको बताएका छन्।

उनले निर्वाचनको प्रचारप्रसारको क्रममा राज्यसत्ताको दुरुपयोग गर्दै नेकपा (एमाले) का उम्मेदवार एवम् पार्टीका अन्य जिम्मेवार नेता कार्यकर्ताको मोबाइल ट्राकिङ्ग गरेको आरोपसमेत लगाएको छ।

खनालले निर्वाचनमा नेकपा एमाले जिल्ला अध्यक्ष महेश बस्नेतसँग फराकिलो मतान्तरले पराजय भोगेपछि निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठाएका थिए। उनले इलामका दुवै क्षेत्रमा निर्वाचन आयोगले मतगणना गरेर नतिजा घोषणा गरे पनि त्यसमा गम्भीर विवाद रहेको बताएका थिए।
खनालले विज्ञप्ति जारी गरेर निष्पक्षतामाथि प्रश्न उठाएको २ दिन नबित्दै एमालेले प्रतिउत्तर दिएको हो। खनालले पराजय नजिक पुग्दै मतगणनामा धाँधली भएको समेत आरोप लगाएका थिए। उनले संचारकर्मीहरुसँग भेटघाट गर्दै मतगणनाको क्रममा कर्मचारीको मिलेमतोमा अनियमितता भएको आरोपसमेत लगाएका थिए।
उनले एक ठाउँको मत हराउनु र अर्को ठाउँमा भेटिनु आश्चर्यजनको भएको बताएका थिए। उनले गणनाको क्रममा सुरुमा ४३७ मत गायव भएको र शनिबारको गणनाका क्रममा मुचुल्कामा भन्दा २६६ मत बढी भेटिएको आरोप समेत लगाएका थिए।
उनले निर्वाचनका क्रममा देखापरेका कमीकमजोरीहरू, त्रुटि र गल्तीहरूलाई उपयुक्त प्रक्रियाबाट सच्याइने उल्लेख गर्दै संविधानबमोजिम लोकतान्त्रिक मूल्यमान्यता, विधि र प्रक्रिया स्थापित गरिने बताएका छन्। खनाल बस्नेतसँग २ हजार ६ सय ६४ मतान्तरले पराजित भएका थिए।
बस्नेतले २५ हजार ७ सय ५३ मत पाउँदा खनालले २३ हजार ८९ मत मात्रै ल्याए। हार निश्चित भएपछि खनाल गणना बहिष्कार गरेर निस्किएका थिए।

