काठमाडौं – क्यान्सर पीडित ब्राजिलका ‘महान’ फुटबलर पेले अस्पतालमा भर्ना भएका छन् । पेलेकी छोरीले बुधबार सामाजिक सञ्जालमा बुबालाई अस्पताल भर्ना गरिएको जानकारी दिँदै ‘कुनै आपतकालीन’ अवस्था नहरेको बताएकी छन् ।
ईएसपीएन ब्राजिलले पेलेलाई अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको र उनको स्वास्थ्य समस्या पत्ता लगाउन थप परीक्षण गराइएको बताइएको छ ।
“मेरो बुबाको स्वास्थ्यको बारेमा आज मिडियामा धेरै चिन्ता व्यक्त भएको छ । उहाँ नियमित परीक्षणका लागि अस्पतालमा हुनुहुन्छ,” पेलेकी छोरी केली नासिमेन्टोले इन्स्टाग्राममा लेखेकी छन्, “त्यहाँ कुनै आपतकालीन वा नयाँ भयानक अवस्था छैन । म नयाँ वर्षको लागि त्यहाँ हुनेछु र केही तस्बिरहरू पोस्ट गर्ने वाचा गर्दछु ।’’
८२ वर्षे पेलेको सेप्टेम्बर २०२१ मा पेटबाट ट्युमर हटाइएको थियो । त्यसपछि उनी नियमित रूपमा उपचारका लागि अस्पताल भर्ना भइरहेका छन् । ईएसपीएन ब्राजिलले पेलेलाई हृदयाघात भएको र उनको केमोथेरापी उपचारले अपेक्षित नतिजा नआएकोमा उनको मेडिकल स्टाफले चिन्ता देखाएको जनाएको छ ।