Aamsanchar

मनाङ मस्र्याङदीद्धारा झापा–११ संगको उपाधि भिडन्त पक्का

Author Image
शनिवार, माघ २२, २०७३

बिर्तामोड ।

मनाङ मस्र्याङदी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन भइरहेको मोफसलको सर्वाधिक पुरस्कार राशिको प्रतियोगिताअन्तर्गत शनिबार भएको अन्तिम सेमिफाइनल खेलमा मनाङले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा आयोजक टोली झापा ११ सँगको भेट पक्का गरेको हो । फाइनल प्रवेशसँगै मनाङले कम्तिमा नगद ३ लाख ५० हजार रुपैयाँ सुरक्षित गरेको छ ।

यी दुई टोलीबीचको खेल निकै नै प्रतिस्पर्धात्मक देखिन्थ्यो । सुरुवातदेखि नै दुबै टोलीले आक्रमक खेल देखाएका थिए । पहिलो हाफको अन्त्यतिर मनाङ मस्र्याङ्दीले गोलको खाता खोल्यो । खेलको ४१ औँ मिनेटमा मनाङका लागि विमल रानाले गरेको गोल नै निर्णयक बन्यो । विदेशी खेलाडी ओलावालेको क्रसमा कप्तान सुजल श्रेष्ठको प्रहार पोलमा लागेर फर्किदा विमलले जाली चुमाएका हुन् ।

यसअघि खेलको १८औँ मिनेटमा मनाङका सुशील लामाको प्रहार आर्मीका गोलरक्षक विकेश कुथुले सहजै समाते । २८ औँ मिनेटमा मनाङका कप्तान सुजल श्रेष्ठको कडा प्रहार आर्मीका गोलरक्षक कुथुले शानदार बचाउ गरे । गोल बचाउने क्रममा गोलरक्षक कुथुको पोलमा टाउको ठोक्किएको थियो । दोस्रो हाफको १३ औँ मिनेटमा मनाङका सुशील लामाको प्रहार आर्मीका गोलरक्षक कुथुले विफल पारे ।

खेलमा रेफ्रि लव खत्रीले आर्मीका सुमन अर्याल, पदम तामाङ, कप्तान भरत खवास, विक्रम लामा तथा मनाङका कमल श्रेष्ठ, हेमन्त थापामगर, विशाल राई र ओलावालेलाई पहेँलो कार्ड देखाए ।
शनिबारको खेलको म्यान अफ द म्याच मनाङका कप्तान सुजल श्रेष्ठ घोषित भए । उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजार रुपैयाँ प्रदान गरे । त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भीसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका एक पदमलाल राजवंशीलाई एक्सपर्ट फ्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान ग¥यो ।

प्रतियोगिताअन्तर्गत आयोजक झापा–११ र मनाङ मस्र्याङदीबीचको फाइनल खेल सोमबार हुनेछ । एक विदेशीसहित १० टिमको सहभागिता रहेको प्रतियोगिताको बिजेताले नगद सात लाख रुपैयाँ र ट्रफी तथा उपविजेताले नगद तीन लाख ५० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर