दिपेन्द्र भट्टराई,…
सम्पत्ति शुद्धीकरण गर्ने अपराधले प्रया सबै क्षेत्रमा प्रभाव पार्ने गर्दछ । यो अपराध सिमारहित अपराध हो र यसको संजाल बिश्वभरी फैलिएको छ । हाम्रो मुलुक पनि यस अपराधबाट आक्रान्त भैरहेको छ । यसै सन्र्दभमा यस स्तम्भमा सम्पत्ति शुद्धीकरणको अपराध, यसका सम्भाब्य स्रोत, मौजुदा कानुन र निवारणको आवश्यकता लगायतका बिषयमा उल्लेख गर्ने प्रयास गरिएको छ ।
गैरकानूनी रुपमा आर्जित आयलाई रुपान्तरण गर्दै वैध बनाउने प्रयासलाई सामान्य अर्थमा सम्पत्ति शुद्धीकरण भनिन्छ । सम्पत्ति शुद्धीकरण भन्नाले गैरकानूनी कार्य गरी आर्जन गरेको सम्पत्तिलाई कानूनी स्रोतबाट प्राप्त भएको देखाउन त्यस्तो सम्पत्तिको वास्तविक स्रोत लुकाउने, प्रकृति बदल्ने वा कारोबार छल्ने कार्यलाई बुझिन्छ ।
अझ स्पष्ट संग भन्दा अपराधीहरुले खास पैसा वा सम्पत्तिको स्वमित्व र स्रोतलाई ढाकछोप गरेर, कानुनले बर्जित गरेको प्रकृया वा तरिका अपनाएर आर्जन गरेको सम्पत्तिलाई कानुन बमोजिनै आर्जन गरेको सम्पत्ति हो, भनि कारोबार नै बदली राज्यलाई छलि आर्जित सम्पत्तिलाई शुद्ध बनाउने कार्य नै सम्पत्ति शुद्धीकरण हो ।
यो वित्तीय कारोवारको त्यस्तो पाटो हो जसमा सामान्यतया कुनै कसूर वा आपराधिक कार्यबाट आर्जित आम्दानीलाई वैध सम्पत्तिमा बदलेर विभिन्न ढंगले कानूनी स्वरुप दिने प्रयास गरिन्छ । अर्को शब्दमा भन्नु पर्दा सम्पत्ति शुद्धीकरण वित्तीय कारोवारको त्यस्तो पक्ष हो जसमा आपूmले अवैध वा कसूर गरी कमाएको सम्पत्तिको वास्तविक उत्पत्ति र स्रोत लुकाउने एवं छिपाउने र विभिन्न वित्तीय कारोवारको माध्यमबाट नयाँ कानूनी स्रोत सिर्जना गर्ने प्रयास गरी त्यस्तो सम्पत्तिलाई शुद्ध वनाउने प्रयत्न भएको हुन्छ ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी अन्तराष्ट्रिय संस्था, वित्तीय कारवाही कार्यदल (फाइनान्सियल एक्सन टास्कफोर्स) ले सम्पत्ति शुद्धीकरणलाई अपराध जस्तो नराम्रो स्रोतबाट प्राप्त आम्दानीलाई छिपाउन गरिने प्रक्रिय भनी परिभाषित गरेको छ । त्यस्तै, सम्पत्ति शुद्धीकरण वित्तीय कारोबारलाई गैरकानुनी आर्जनको परिचय, स्रोत वा गन्तव्यलाई छिपाउने व्यवहार भनी व्याख्या गरेको छ ।
उपर्युक्त परिभाषा र भनाइका आधारमा गैरकानूनी वा आपराधिक धन्धाबाट प्राप्त आयलाई कानूनसम्मत सम्पत्तिमा रुपान्तरण गरी बैधानिक गर्ने क्रियाकलाप नै सम्पत्ति शुद्धीकरण हो । सम्पत्ति शुद्धीकरणमा त्यस्तो आयको उत्पत्ति, वास्तविक स्रोत र प्राप्तीको स्थान लुकाइएको एवं छिपाएको र कृत्रिम तर कानूनी स्रोत सिर्जना गरिएको अवस्था रहन्छ । कुनै पनि व्यक्तिले गैरकानूनी आयलाई सम्पत्तिमा रुपान्तरण गरी प्रचलित कानुनको सम्भाव्य कारबाहीबाट बच्न र त्यस्तो सम्पत्ति शुद्ध बनाई सोको मालिक बन्न गरिने प्रयासलाई नै अर्को शब्दमा सम्पत्ति शुद्धीकरण भनिन्छ ।
अतः गैर कानूनी एवं आपराधिक कार्यबाट कमाएको आयलाई समयको अन्तरालमा वैध सम्पत्ति वा “सेतो धन” मा रुपान्तरण गरी कानूनी एवं वैधानिक वनाई समाजमा सभ्य नागरिकको रुपमा स्थापित हुने प्रयासलाई नै सम्पत्ति शुद्धीकरण हो भन्न सकिन्छ ।
हाम्रो समाजमा सम्पत्ति शुद्धीकरणको स्रोत खोज्दा, गैरकानुनी रुपमा आर्जित सम्पत्तिलाई कानुनी आय बनाउने अर्थात कालो धनलाई सेतो धन बनाउने धेरै प्रयास एवं क्रियाकलापहरु भेटिन्छन । यसका अतिरिक्त यसका सम्भब्य स्रोत बिभिन्न हुन सक्ने भएपनि मुख्य गरि आतंककारी कार्य र यसमा भएको वित्तिय लगानी, लागु औषधको कारोवार, भ्रष्टाचार, अवैद्ध हातहतियारको कारोवार, मानव तस्करी तथा अमुल्य बस्तु, जनावार र बोट बिरुवाको तस्करी, सिमा तस्करी, चिठ्ठ चन्दा ठगी, माफिया संचालन, हुण्डी ब्यपार, क्यासिनो, अपहरण र फिरौती, चोरी डकैती (पाइरेसी), राजस्व छली गर्ने कार्य र गतिविधिहरु सम्पत्ति शुद्धीकरणका प्रमुख स्रोतहरुका रुपमा देख्न सकिन्छ ।
सम्पत्ति शुद्धीकरण एक आर्थिक अपराध भएकोले यसले मुलुकको अर्थ ब्यवस्थामानै असर पर्ने गर्दछ । सम्पत्ति शुद्धीकरणबाट प्रभावित हुने क्षेत्रहरुलाई प्रभावमुक्त राख्नुको अतिरिक्त यसको निवारण गर्न निम्न कारणले गर्दा जरुरी भएको छ । मूलतः शंकास्पद कारोवार पहिचान गरी सम्भावित अभियुक्तलाई अनुसन्धान, तहकिकात एवं अभियोजन गरी कानूनी दायरामा ल्याउन ।
सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने लगानीलाई अपराधीकरण गर्न । सम्पत्ति शुद्धीकरण गर्ने अपराधीलाई कानूनको दायरामा ल्याई दण्ड सजाय गर्न । सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानी हुने कार्यबाट आर्जित सम्पत्ति जफत गर्न । सम्पत्ति शुद्धीकरण निवारणमा राष्ट्रिय, क्षेत्रीय एवं अन्तर्रा्ष्ट्रिय सहयोगको अदानप्रदान गर्न । भविष्यमा अपराधीहरुले गैर कानूनी कार्यबाट सम्पत्ति शुद्धीकरण गर्ने गर्न नसक्ने वातावरण सिर्जना गर्न र राष्ट्रिय, क्षेत्रीय एवं अन्तराष्ट्रिय अर्थतन्त्रको स्वस्थ्य ढंगले विकास गर्न ।
राज्यलाई झुक्याई गलत श्रोतबाट आर्जन गरेको सम्पत्तिलाई शुद्ध बनाउने कार्य अपराध हो । यसको प्रभावकारी रुपमा नियन्त्रण नभएसम्म मुलुकमा अपराधिक क्रियाकलाप बढ्ने हुँदा यसबाट मुलुकमा स्थिरता, स्थायित्व तथा समुन्नती कायम हुन नसक्ने भएकोले विश्वका अधिकांश मुलुकहरुले यस सम्बन्धमा विशेष रणनीतिक रुपमा कानूनी, संरचनागत र अनुसन्धानात्मक व्यवस्था गरेको पाइन्छ । यस सन्दर्भमा नेपालमा यस्ता अपराधहरुको प्रभावकारी निवारण गर्न रणनीतिक रुपमा निवारणात्मक, नियन्त्रणात्मक तथा दण्डात्मक व्यवस्था गर्न सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ जारी भएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ ले सम्पत्ति शुद्धीकरणबाट प्राप्त आय गैरकानूनी हुने व्यवस्था गर्नुको साथै आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीलाई अपराधीकरण पनि गरेको छ । मूलतः अपराधजन्य कार्यबाट प्राप्त सम्पत्ति शुद्धीकरण गर्ने कामलाई रोक्ने एवं आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीलाई अपराधीकरण गर्ने मूल लक्ष्य लिएर जारी भएको यो ऐनमा सम्पत्ति शुद्धीकरणको अपराधमा देहायका महत्वपूर्ण प्रावधानहरु रहेको पाइन्छ ।
कानुनमा भएको ब्यवस्था अनुसार, सम्पत्तिको गैरकानूनी स्रोत लुकाउने वा छल्ने वा कसूरमा संलग्न व्यक्तिलाई कानूनी कारबाहीबाट बचाउन सहयोग गर्ने उद्देश्यले कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नु पर्ने मनासिब आधार हुँदा हुँदै त्यस्तो सम्पत्ति कुनै पनि प्रकारले रूपान्तरण वा हस्तान्तरण गर्न नहुने । कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने थाहा पाउँदा पाउँदै वा विश्वास गर्नु पर्ने मनासिब आधार हुँदा हुँदै त्यस्तो सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, निसर्ग, कारोबार, स्वामित्व वा सो सम्पत्ति उपरको अधिकार लुकाउनु नहुने । छल्ने वा बदल्ने, वा कसूरबाट प्राप्त सम्पत्ति हो भन्ने जानी जानी वा विश्वास गर्नु पर्ने मनासिब आधार हुँदा हुँदै त्यस्तो सम्पत्ति प्राप्त गर्ने, प्रयोग गर्ने वा धारण गर्नु नहुने भनि सम्पत्ति शुद्धीकरणको कसुर स्थापित गरेको छ ।
कुनै व्यक्तिले यी माथि लेखिएबमोजिमको कुनै कार्यको षडयन्त्र, मद्दत, दुरुत्साहन, सहजीकरण, मतसल्लाह वा उद्योग गर्न वा सम्बद्धता वा सहभागिता जनाउन वा मतियार हुन हुँदैन र उल्लेखित कुनै कार्य गरेमा त्यस्तो कार्य सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर हुनेछ भनि मौजुदा कानुनले ब्यवस्था गरेको पाइन्छ । कनुनले सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी गर्नेलाई सजाय निम्न बमोजिमको सजाय समेत गरेको छ ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूर गर्ने र षडयन्त्र गर्ने व्यक्तिलाई ऐनमा बिगोको दोब्बर जरिवाना र कसूरको गाम्भीर्य हेरी दुई वर्षदेखि दश वर्षसम्म कैद हुने ब्यवस्था गरिएको छ । आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर गर्ने व्यक्तिलाई विगो खुलेकोमा विगोको पाँच गुणा र विगो नखुलेकोमा एक करोड रूपैयाँसम्म जरिवाना र कसूरको गाम्भीर्य हेरी तीन वर्षदेखि बीस वर्षसम्म कैद हुन अर्काे सजायको प्रवधान रहेको छ ।
उल्लिखित कसूरहरुमध्ये अन्य कसूर गर्ने व्यक्तिलाई उल्लिखित सजायको आधा सजाय हुनेछ । कुनै राष्ट्रसेवक वा सूचक संस्थाको पदाधिकारी वा कर्मचारीले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो व्यक्तिलाई उल्लिखित सजायमा थप दश प्रतिशत सजायको ब्यवस्था ऐनमा छ ।
त्यसैगरी कुनै कानूनी व्यक्ति (संघ, संस्था वा कम्पनी) ले सम्पत्ति शुद्धीकरण वा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कुनै कसूर गरेमा त्यस्तो कानूनी व्यक्तिलाई प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएता पनि कसूरको गाम्भीर्यका आधारमा प्राकृतिक व्यक्तिलाई हुने जरिवानाको पाँच गुणासम्म जरिवाना गर्ने, अवधी तोकी सार्वजनिक खरीदमा निषेध गर्ने, अवधी तोकी उत्पादन वा सेवाको खरीद गर्न रोक लगाउने, हानि नोक्सानीको क्षतिपूर्ति भराउने, इजाजतपत्र वा अनुमतिपत्र खारेज गर्ने, वा त्यस्तो कानूनी व्यक्तिलाई खारेज गर्ने कानुनी ब्यवस्था रहेको छ ।
माथि लेखिए बाहेक कसैले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लङ्घन गरेमा बिगो खुलेकोमा बिगो जफत गरी विगो बमोजिमको जरिबाना र विगो नखुलेकोमा दशलाख रुपैयाँसम्म जरिबाना हुनेछ ।
सम्पत्ति शुद्धीकरण सम्वन्धी कुनै पनि मुद्दाको हदम्याद नहुने र थाहा पाएको मितिबाट मुद्दा चल्ने व्यवस्था छ । सवै सम्पत्ति शुद्धीकरण निवारणका मुद्दाहरु सरकारवादी हुने र सरकारी वकिलले प्रतिरक्षा गर्ने व्यवस्था ऐनमा छ ।
कुनै बैङ्क, वित्तीय संस्था वा गैर वित्तीय संस्थाको पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ । कसैले सम्पत्ति शुद्धीकरण गरेको सूचना दिने व्यक्तिलाई कसुर प्रमाणित भई कायम भएको विगोको १० प्रतिशत वा रु. १० लाख मध्ये जुन घटी छ सो बराबरको रकम पुरस्कार दिन समतकोे व्यवस्था ऐनमा छ ।
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर मानिने काम कारबाहीसँग सम्बन्धित प्रमाण लुकाउने वा नष्ट गर्ने व्यक्तिलाई कसूरको मात्रा अनुसार एक महिनादेखि तीन महिनासम्म कैद वा पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ र त्यस्तो कार्य गर्न सहयोग गर्नेलाई सो सजायको आधा सजाय हुनेछ ।
यस ऐन अन्तर्गतको अनुसन्धान सम्बन्धी काम कारबाहीमा कसैले बाधा विरोध गरेमा निजलाई अनुसन्धान अधिकृतको प्रतिवेदनको आधारमा मुद्दा हेर्ने अधिकारीले छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय गर्न सक्नेछ ।
त्यसैगरी कसैले उजूरी दिनु पर्ने मनासिब कारण नभई कसैलाई कुनै किसिमको हानि नोक्सनी पुर्याउने वा दुःख, हैरानी वा झण्झट दिने नियतले झूट्टो उजूरी दिएको प्रमाणित भएमा अनुसन्धान अधिकृतको प्रतिवेदनका आधारमा मुद्दा हेर्ने अधिकारीले त्यस्तो व्यक्तिलाई दशहजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने मौजुदा कानुनले ब्यवस्था गरी सम्पत्ति शुद्धीकरणको अपराधलाई निवारणात्मक, नियन्त्रणात्मक तथा दण्डात्मक समेत बनाएको छ ।
email–[email protected]
लेखक कानुन व्यवसायी(अधिवक्ता) हुन ।