काठमाडौं – राष्ट्रिय टिमका क्रिकेटर शरद भेषावकर र आरिफ शेखले बलात्कार आरोपमा सजायँ भोगिरहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई न्याय हुनुपर्ने बताएका छन् ।
उनीहरूले आज बिहान फेसबुकमा स्टाटस राख्दै सन्दीपलाई न्याय हुनुपर्ने बताएका हुन् ।नाबालिकालाई बलात्कारको आरोप लागेपछि सन्दीप पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत काठमाडौंले गत कात्तिक १८ गते उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । सो आदेश अनुसार उनलाई केन्द्रीय कारागारमा राखिएको छ ।जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । यसअघि पुस १४ गते उनको निवेदनको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।गत भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग खेल्न जमैका पुगेका लामिछाने २० असोजमा नेपाल फर्किएका थिए । उनलाई सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।