“किसानलाई वास्तविक मूल्य थाहा पाउन कठिन छ”, उनले भने, “बिचौलियाको भरमा हामीले बिक्री गर्नुपर्ने अवस्था छ । झापाको विर्तामोड पाउने मूल्यको हामीलाई जानकारी हुँदैन । यहाँका ठेकेदारले भनेको आधारमा बिक्री गर्नुपर्छ । सरकारले मूल्य निर्धारण तथा बजारीकरणमा भूमिका खेलिदिए वास्तविक किसानलाई राहत पुग्ने थियो ।”
टेम्केमैयुङ गाउँपालिका–१ का करिब १०० बढी कृषकले चिराइतोको व्यवसायिक खेती गरिरहेको राउतले जानकारी दिए । यहाँको सुम्लिखा, खम्बुखा, पाङखाङ, डाँडागाउँ सावाका किसान व्यावसायिक खेतीमा लागेका छन् । आफ्नो क्षेत्रबाट तीन सय मन बढी चिराइतो उत्पादन भएको कृषक राउतले जानकारी दिए । यहाँका किसानहरूले आलु, मकै फल्ने बारीमा व्यावसायिक चिराइताको खेती गरिरहेका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुने गरेको छ । चिराइतोबाट आलु, मकैभन्दा राम्रो आम्दानी हुने स्थानीय कृषक देवेन्द्र राउतले बताए । यहाँका एक जना कृषकले औषतमा २० देखि ५० मन (४० केजीको एक मन) सम्म उत्पादन गर्ने कृषक राउतले जानकारी दिए । यस वर्ष साढे उन्नाइस मन चिराइलो बिक्री गरेको उनको भनाइ छ । “मैले यो वर्ष पाँच लाख बढी आम्दानी गरेँ”, कृषक राउतले भने, “मैले सुरुमा प्रतिमन २६ हजारले बेचेँ, अहिले प्रतिमन ३० हजारमा बिक्री भइरहेको छ ।”
चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा संकलन गर्न योग्य हुने स्थानीय कृषक प्रेम बस्नेतले बताए । आलु, मकैबाट ५० हजार आम्दानी हुने बारीमा चिराइतो खेती गरेमा पाँचदेखि सात लाखसम्म आम्दानी लिन सकिने कृषक बस्नेतको भनाइ छ । चिराइतोले आलु, मकैभन्दा अलि ढिलो लाभ दिने गर्दछ । तालिम तथा आवश्यक ज्ञान पाएमा अझ राम्रो आम्दानी लिन सकिने उनको भनाइ छ ।
“पराम्परागतरूपमा खेती गरिरहेका छौँ”, कृषक बस्नेतले भने, “यसलाई आधुनिक तरिकाले खेती गर्न सके अझ राम्रो आम्दानी लिन सकिन्छ । हालसम्म राज्यबाट खास सहयोग छैन । यसको खेतीसम्बन्धी तालिम तथा प्राविधिक सहयोग मात्र पाएमा पनि अझ सहज हुने थियो ।” एकपटक सङ्कलन गरेर बेचेपछि सानो बिरुवा उत्पादनयोग्य हुन अलि समय लाग्ने किसानको भनाइ छ ।वर्षेनी आम्दानी लिन फरक–फरक जमिनमा खेती गर्नुपर्ने टेम्केमैयुङ गाउँपालिका–५ मझौलेकी कृषक गोमादेवी विष्टले बताइन् । अहिले विभिन्न गाउँबस्तीमा चिराइतो व्यापारीले धमाधम चिराइतो खरिद गर्न थालेको उनले बताइन् । “दुई–चार वर्षअघिसम्म चिराइतोले उचित मूल्य पाएको थिएन”, कृषक विष्टले भने, “पछिल्लो समयमा मूल्यमा वृद्धि भएको छ । अहिले घरबाटै प्रतिमन रु ३० हजारमा बिक्री भइरहेको छ ।”“एघार रोपनी बारीमा चिराइतो खेती गरिरहेकी छु”, उनले भने, “विगतमा मूल्य घटेका कारण उत्साह कम थियो । तर गत वर्षबाट केही भए पनि मूल्य बढेको छ । मूल्य नपाउँदा प्रतिमन रु छ हजारमा बिक्री गरेको अनुभव पनि छ । अहिले पाएको मूल्य त धेरै राम्रो हो ।” यस वर्ष यहाँबाट ५० हजार २६२ केजी चिराइतो बाहिर गएको तथ्याङ्क रहेको जिल्ला वन कार्यालय भोजपुरले जनाएको छ । बाहिर लैजाने क्रम जारी रहेकाले यो परिमाण अझ वृद्धि हुनसक्ने कार्यालयको भनाइ छ । यहाँको करिब एक हजार हेक्टर क्षेत्रमा चिराइतो खेती हुने गरेको कार्यालयले जनाएको छ ।भोजपुरको अधिकांश माथिल्लो भेगमा यसको व्यावसायिक खेती हुने गरेको छ । टेम्केमैयुङ गाउँपालिका–५ मझौले, तिम्मा, षडानन्द नगरपालिकाको किमालुङ, दोभाने, हेलौँछा, साम्पाङ, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत ठाउँ चिराइतोका लागि मुख्य पकेट क्षेत्रका रूपमा रहेका छन् । विशेषगरेर एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने गर्दछ । ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको लगायत रोगका लागि चिराइतो प्रयोग गर्न सकिने यसका जानकारको भनाइ छ । पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ । यहाँको चिराइतो भारत, चीन र बंगलादेशमा निर्यात हुने गरेको व्यवसायीको भनाइ छ ।