काठमाण्डाै – आईसीसी विश्ककप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाले स्कटल्याण्डलाई १ सय ५४ रनको लक्ष्य दिएको छ । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया ३९ ओभर २ बलमा १ सय ५३ रनमा अलआउट भयो ।
नामिबियाका लोह्यान्डरी लोरेन्सले ५४ तथा बेर्नाड स्कोल्टेजले ३० रन बनाए । स्कटल्याण्डका मिचेल लेक्सले ४ तथा सफियान सरिफ र मार्क वाटले समान ३/३ विकेट लिए । हिजो भएको खेलमा नामिबिया घरेलु टोली नेपालसँग पराजित भएको थियो । यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् ।
श्रृंखलामा सहभागी तीन वटै टोलीले एक अर्कासँग समान २/२ खेल खेल्ने छन् । सात देश सम्मिलित आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्ड ३२ खेलमा ४६ अंकका साथ अंकतालिकाको शीर्ष स्थानमा छ । नामिबिया ३१ खेलमा ३७ अंकका साथ तेस्रो स्थानमा छ । नेपाल २५ खेलमा २० अङ्कसहित छैटौँ स्थानमा छ ।
नेपालले आउँदो शुक्रवार स्कटल्यान्डसँग, शनिवार नामिबियासँग र मङ्गलवार फेरि स्कटल्यान्डसँग खेल्नेछ ।