काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालमा जारी त्रिदेशीय शृंखलाको दोस्रो खेलमा स्कटल्यान्डले नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ । खेलमा स्कटल्यान्डका ओपनर जर्ज मुन्सेले शतक बनाए । मुन्सेले शतक बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियाले प्रस्तुत गरेको १५४ रनको सामान्य लक्ष्य स्कटल्यान्डले २२.१ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्यो ।
स्कटल्यान्डको जितमा आक्रामक रूपमा प्रस्तुत भएका मुन्सेले ६१ बलमा १२ चौका र सात छक्कासहित १०३ रन बनाए । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा मुन्सेको यो पहिलो शतक हो । उनलाई क्रिजमा बलियो साथ दिएका केल कोएट्जर ४६ रनमा अविजित रहे । कोएट्जरले ७२ बलमा सात चौकासहित ४६ रन बनाएका हुन् । यसअघि, टस हारेपछि ब्याटिङमा निम्त्याइएको नामिबियाले ३९।२ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनाएको थियो ।
नामिबियाका ओपनर लो–ह्यान्ड्रे लोउरेन्सले ५४ रन बनाएका थिए । उनले ८८ बलमा पाँच चौका प्रहार गरे । बर्नार्ड स्कल्जले ३०, जान ग्रीनले २५ र पिकी या फ्रान्सले ११ रनको योगदान गरे । नामिबियाका अरू ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नामिबियाका कप्तान गेहार्ड इरास्मस र जान निकोल लोफ्नी इटोन ‘गोल्डेन डक’ भएका थिए ।
नामिबियालाई सस्तैमा समेट्न स्कटल्यान्डका माइकल लियस्कले चार विकेट लिए । ८।२ ओभर बलिङ गरेका लियस्कले एक मेडनसहित २४ रन मात्र खर्चिए । सफ्यान सरिफ र मार्क वाटले समान तीन विकेट लिए । शृंखलामा स्कटल्यान्डको यो पहिलो खेल हो । नामिबिया यसअघि मंगलबार भएको खेलमा नेपालसँग दुई विकेटले पराजित भएको थियो ।
जितसँगै ३३ खेलबाट ४८ अंक जोडेको स्कटल्यान्ड तालिकाको शीर्ष स्थानमा छ । ३२ खेलबाट ३७ अंकसहित नामिबिया तेस्रो स्थानमा छ । स्कटल्यान्डले अब शुक्रबार नेपालसँग खेल्नेछ । तालिकाको छैटौँ स्थानमा रहेको नेपालले २५ खेलबाट २० अंक जोडेको छ ।