धनकुटा – जिल्ला बुद्धिचाल संघको अधिवेशनले रमेशचन्द्र अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । समितिको उपाध्यक्षमा टीका भण्डारी, सचिव हेमकुमार राई र कोषाध्यक्ष विजयशेखर श्रेष्ठ चुनिएका छन् । सदस्यहरूमा नारायणकुमार आठपहरिया, कविराज घिमिरे र किसन बोगटी छनोट भएका छन् ।
प्रदेश अधिवेशन प्रतिनिधिहरूमा अधिकारी, भण्डारी र शैलेश वाग्लेलाई चयन गरिएको बुद्धिचाल संघका प्रदेश संयोजक कृष्ण सिग्देलले बताए । उक्त संघका केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्र पराजुलीले बुद्धिचाल खेललाई धनकुटामा पहिलो पटक केन्द्रले अनुमोदन गरेको छ । सबै जिल्ला र पालिकास्तरमा बुद्धिचालको विस्तार गर्न जुटेको उनले बताए ।
पूर्वकेन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, प्रदेश संयोजक सिग्देल, प्रदेश सदस्य अतुलकुमार दहाल र जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राईलगायतले खेलकुदको विकासका लागि राज्य पक्षको दायित्व रहनुपर्ने जोड दिए । यस अघि धनकुटामा राजेश्वरबहादुर श्रेष्ठको नेतृत्वमा तदर्थ समिति कार्यरत थियो । उक्त संघको प्रदेश अधिवेशन मंगलबारदेखि झापाको दमकमा आयोजना गरिने पराजुलीले जनाए ।