Aamsanchar

पूर्वकप्तान लामिछानेलाई यूएईमा खेलाउन क्यानले लेख्यो राखेपलाई पत्र

Author Image
बुधवार, फागुन १०, २०७९

काठमाडौं – पूर्वकप्तान सन्दीप लामिछानेलाई युनाइटेड अरब इमिरेट्स (यूएई)मा खेलाउनका लागि नेपाल क्रिकेट संघ (क्यान)ले आवश्यक प्रक्रियामा सहयोग गरिदिनका लागि राष्ट्रिय खेलकुद परिषद्(राखेप)लाई पत्र पठाएको छ । “सन्दीपले विदेशमा खेल्न पाउनुपर्छ भनेर हामीले दाबी गरेका छैनौँ । तर, उनलाई त्यहाँ खेल्न दिनका लागि आवश्यक पर्ने प्रक्रियामा सहयोग गरिदिनका लागि हामीले राखेपलाई पत्र पठाएका छौँ,” क्यानका क्रिकेटिङ म्यानेजर विनोद दासले बाह्रखरीसँग भने ।

सन्दीपविरुद्ध नाबालिगमाथि बलात्कार गरेको आरोप छ । त्योसँगै सन्दीपलाई क्यानले गएको भदौ २३ गते निलम्बन गरेको थियो । त्यति बेला सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्नका लागि वेस्ट इन्डिजमा थिए । गएको असोज २० गते नेपाल फर्किएका सन्दीपलाई नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

पुस २८ गते पाटन उच्च अदालतले फौजदारी अभियोग लागेका सन्दीपलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश उल्टाउँदै २० लाख रुपैयाँ धरौटी राखी सर्तसहित तारेखमा छाड्न आदेश दिएकोे थियो । त्यसपछि माघ १७ गते पोखरामा सम्पन्न क्यान बोर्ड बैठकले सन्दीपको निलम्बन फुकुवा गरेको थियो । लगत्तै क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा समावेश गरेको थियो ।

यही फागुन २ देखि ९ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृंखलामा सन्दीपले १३ विकेट लिएका थिए । नेपालले अब आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दुई शृंखला खेल्न बाँकी छ । त्यसमध्ये एउटा यूएई र अर्को नेपालमा खेल्नेछ ।

यूएईमा नेपालले फागुन १५ देखि २२ गतेसम्म त्रिदेशीय शृंंखला खेल्नेछ । त्यहाँ नेपालले यूएई र पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्नेछ । सोही प्रतियोगिताका लागि क्यानले सन्दीपलाई लैजान प्रक्रिया अघि बढाएको हो । “क्यानले अदालतबाट स्वीकृत लिनका लागि भनेर सपोर्टिङ डकुमेन्ट मागेको छ,” राखेपका विभागीय प्रमुख मधुसूदन बस्नेतले भने । सन्दीपलाई टिममा समावेश गर्ने क्यान निर्णयको चौतर्फी विरोध भएको थियो । तर पनि क्यान नेतृत्वले जबरजस्ती सन्दीपलाई खेलाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (१)

सम्बन्धित खबर