Aamsanchar

मोटरसाइकल र पार्टपुर्जासहित मोटरसाइकल चोरी गर्ने समूहका आठ जना पक्राउ

Author Image
आइतवार, फागुन १४, २०७९

पाँचथर – पाँचथर प्रहरीले मोटरसाइकल चोरी गर्ने समूहका आठ जनालाई चोरीका मोटरसाइकल र तिनका पार्टपुर्जा सहित पक्राउ गरेको छ ।

जिल्लाका विभिन्न स्थानबाट नियमित मोटराइकल हराएका उजुरी पर्न थालेपछि प्रहरीले छिमेकी तेह्रथुमको आठराई गाउँपालिकाबाट उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा फिदिम १ मा मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आएका २८ वर्षीय वीरेन्द्र राना, इलाम फाकफोकथुम २ घर भई तेह्रथुमको आठराईमा दुग्ध डेरी सञ्चालन गर्दै आएका तारा बस्नेत, आठराई गाँउपालिका ४ तेह्रथुम बस्ने एकमान दियाली, पबिन इङनाम, वासुदेव तामाङ, सुरज पुर्वछाने मगर, शिवकुमार तामाङ र श्रीप्रसाद तामाङ छन् ।

उनीहरुको साथबाट चोरीका ७ थान मोटरसाइकल र तिनका पार्टपुर्जा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमूख (डीएसपी) हरि खतिवडाले जानकारी दिए ।

उनका अनुसार पक्राउ परेका सबै युवक १९ देखि २८ वर्ष उमेर समूहका छन् । उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरुले पाँचथर र तेह्रथुमका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी इन्जिन, पार्टपुर्जा र नम्बरसमेत परिवर्तन गरी बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुले चोरी गरेकामध्ये केही मोटरसाइकलको स्वरुप नै परिवर्तन गरेर बिक्री गरेको पाइएको छ । पक्राउ परेकामध्ये केही मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइएको छ । केही भने अनुसन्धानको प्रकृयामा छन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पाँचथरको हिरासतमा राखी अनुसन्धान सुरु गरिएको पनि खतिवडाले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (१)

सम्बन्धित खबर