बिर्तामोड । झापाको बिर्तामोडमा सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा विद्युतीय सवारी साधन तर्फ उपभोक्ताको आकर्षण बढेको पाइएको छ ।
महोत्सव सञ्चालन भए यता विभिन्न कम्पनीका तिन वटा कार र आधा दर्जन भन्दा धेरै स्कुटर र केही थान विद्युतीय साइकल बिक्री भएको छ । आइतबार अपरान्ह टाटा नेक्सोन इभी एक्सजेट प्लस विद्युतीय कार बिक्री भएको हो ।
बिर्तामोडका भवानीप्रसाद खरेलले ४० लाख ९९ हजार मूल्यको विद्युतीय कार खरीद गरेको अलास्का अटोमोबाइल्स प्र.लि. का सेल्स मेनेजर एजल न्यौपानेले जानकारी दिएका छन् । उक्त विद्युतीय गाडी फुल चार्ज हुदाँ २ सय ५० किलो मिटर सम्म चल्ने उनले बताए । कारको चावी महोत्सवका संयोजक राजु न्यौपानेले हस्तान्तरण गरेका थिए ।
३० किलो वाट ब्याट्री क्षमता रहेको विद्युतीय कार का लागि नेपालका विभिन्न १९ वटा स्थानमा फास्ट चार्जिङ स्टेसन रहेका छन् । घरमा पनि कारको ब्याट्री चार्ज गर्न सकिने अलस्काले जनाएको छ ।
विद्युतीय कार वातावरणीय र सरल आर्थिक हिसाबले उपयुक्त रहेको छ । विद्युतीय गाडी खरीद गर्ने उपभोक्ताहरूलाई खरीद मूल्यको ८० प्रतिशत सम्म फाइनान्स सुविधा हुने गरेको छ ।