Aamsanchar

नेपालद्वारा पपुवा न्यु गिनीसामु २ सय ९८ रनको लक्ष्य

Author Image
बिहिवार, फागुन २५, २०७९

काठमाडौँ –आसिफ शेखले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि नेपालले क्रिकेट विश्वकप लिग-२ मा पपुवा न्यु गिनीलाई २ सय ९८ रनको लक्ष्य दिएको छ । टस हारेपछि ब्याटिङमा आएको नेपालले ४९.१ ओभरमा २ सय ९७ रनमा अलआउट भयो ।

आसिफले १ सय १० रन बनाएपछि नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो उच्च स्कोर बनाउदै भ्रमणकारी टोली पपुवा न्यु गिनीलाई चुनौतीपूर्ण लक्ष्य दिएको हो । तीन साताअघि नामिबियाविरुद्ध लिग-२ कै खेलमा नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २ सय ८७ रन बनाउँदै विजय लक्ष्य पूरा गरेको थियो, जुन यसअघि एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको उच्च स्कोर थियो ।

१ सय १ बलमा शतक पूरा गरेका आसिफले कुल १ सय १० बल खेली १२ चौका र १० छक्का प्रहार गरे । आसिफ नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने पाँचौं खेलाडी हुन् । यसअघि नेपालबाट पारस खड्का, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल र कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए । सन् २०२१ को सेप्टेम्बरमा ओमानविरुद्ध मस्कटमा ९० रन बनाउनु आसिफको यसअघिको व्यक्तिगत उच्च स्कोर थियो ।

आफ्नो इनिङ्समा ९० रन बनाएपछि उनी एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन बनाउने नेपालको दोस्रो खेलाडी बनेका थिए । रोहित पौडेलको ४० खेलको तुलनामा आसिफले ३२ खेलमा एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका हुन् ।

आसिफ र कुशल भुर्तेलसँग पहिलो विकेटमा १ सय १० रनको साझेदारी गरी नेपाललाई सानदार सुरुआत दिलाए । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपाली ओपनिङ जोडिको यो दोस्रो ठूलो साझेदारी हो । यी दुईले नै गत वर्ष अमेरिकाको हृयुस्टनमा ओमानविरुद्ध १ सय १४ रनको साझेदारी गरेका थिए । नेपाली खेलाडीको दशौं शतकीय साझेदारीमा यो छैटौं उत्कृष्ट साझेदारी हो । आसिफले नेपालबाट सर्वाधिक ८ अर्धशतक बनाइसकेका छन् ।

कुशल ४५ रनमा आउट भएपछि यो साझेदारी टुटेको थियो । कुशलले ५६ बल खेली ६ चौका प्रहार गरे । कुशल मल्ल २, ज्ञानेन्द्र मल्ल ११ रनमा आउट भए । आसिफले रोहितसँग चौथो विकेटमा ६७ रनको साझेदारी गरे । रोहितले ३० बल खेली ३ चौकाहित ३५ रन बनाए ।

आसिफ ३८ औं ओभरमा आउट भए । दीपेन्द्रसिंह ७ रनमा आउट भए भने आरिफ शेखले १५ रन जोडे । एक छक्का प्रहार गरेका करण केसी ८, सोमपाल कामी ७ रनमा आउट भए ।

आउट हुने अन्तिम खेलाडी भिम सार्की रहे । उनले ३८ बल खेली ४ चौका प्रहार गरे । पपुवा न्यु गिनीका लागि सेमो कामिआले ५ विकेट लिए । उनले ९।१ ओभरमा ३८ रन खर्चे । रिलेय हेकुरेले १० ओभरमा ५० रन खर्चेर ३ विकेट लिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर