हेटौंडा। मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भएको आन्दोलनका कारण मंगलबार हेटौंडाका निजी बैंंक बन्द भएका छन् । चर्को व्याजदरको विरोध गर्दै आन्दोलनरत् व्यवसायीले हेटौंडाका बैंक १ दिन बन्द गराएको संघका उपाध्यक्ष र प्रवक्ता उज्ज्वल चौलागाईंले बताए ।
बैंकले ऋण लिएकालाई थाहा नदिइ व्याजदरबृद्धि गरेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघले आन्दोलनका कार्यक्रम गरेको हो । कार्यक्रमअन्तर्गत् बैंकको कारोबार ठप्प पारिएको हो ।
सभालाई नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्षद्वय अञ्जन श्रेष्ठ र दिनेश श्रेष्ठले सम्बोधन गर्दै चर्को बैंकव्याजको विरोध गरेका थिए। मकवानपुर उद्योग वाणिज्य संघ उपाध्यक्ष प्रमोदसिंह रानाभाटले विरोधको कार्यक्रम संयोजन गरेका थिए ।
कार्यक्रमलाई सफल बनाउन नारायणी यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ, होटल एसोसिएसन, सुनचाँदी व्यवसायी संघ, कपडा तथा सिलाइ व्यवसायी संघ, माछामासु व्यवसायी संघ, कपडा तथा तयारी पोशाक व्यवसायी संघ, मोबाइल एसोसिएसन, फर्निचर व्यवसायी संघ, अटोमोबाइल एसोसिएसनलगायत विभिन्न बस्तुगत संघहरुको सक्रिय संलग्नता थियो ।
मकवानपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष अनिल अग्रवालले सातौं दिनको विरोधसभालाई सम्बोधन गर्दै आन्दोलनले अपेक्षा गरेअनुरुप माग पूरा नभएकाले थप आन्दोलन आवश्यक रहेको बताएका छन् ।