Aamsanchar

इलामको बरबोटेमा कभर्ड हल निर्माण हुँदै

Author Image
बिहिवार, फागुन ५, २०७३

इलाम।

जिल्लामा खेलकुदका गतिविधि सुस्त हुन थालेपछि इलामको बरबोटेमा रु डेढ करोडको लगानीमा बहुउद्देश्यीय कभर्ड हल निर्माण भइरहेको छ ।

एक वर्षदेखि धमाधम निर्माण भइरहेको कभर्ड हलको दोस्रो चरणको काम भइरहेको छ । क्रिकेट, टेबुलटेनिस लगायतका भित्री खेलका प्रतियोगिता सञ्चालन गर्न सकिने कभर्ड हल निर्माणका लागि जिल्ला खेलकुद विकास समितिले क्रमागत रूपमा रु १० लाख, माइभ्याली फुटवल क्लब इलामले रु १५ हजार र बरबोटे गाविस कार्यालयले रु पाँचलाख ४५ हजार उपलब्ध गराएको तथा अन्य स्थानबाट पनि सहयोग आउने आश्वासन पाएको निर्माण समितिका कोषाध्यक्ष तीर्थ जवेगूले जानकारी दिनुभयो ।

कभर्ड हलको एकसय १७ फिट लम्बाई, ५७ फिट चौडाइ र ३५ फिट उचाइ रहने जनाइएको छ । भवन एकतले र त्यसभित्र चारवटा कोठा रहने समितिले जनाएको छ जसमा दुई कोठामा बास्केटबल र फुटसल र अन्य दुईवटा कोठामा विभिन्न खेल प्रयोजनमा प्रयोग हुने समितिका कोषाध्यक्ष जवेगूले जानकारी दिनुभयो ।

हलमा एकहजारदेखि एकहजार पाँचसयसम्म दर्शक अट्न सक्नेछन् । स्थानीय र विभिन्न सङ्घसंस्थाको सहयोग पाइरहेकाले विसं २०७५ सालभित्र निर्माण कार्य सकेर प्रयोगमा ल्याउने लक्ष्य रहेको निर्माण समितिले जनाएको छ ।

कभर्ड हल अभावकै कारण फुटबल बाहेकका राष्ट्रियस्तरका प्रतियोगिता इलाममा आयोजना गर्न कठिनाइ भएको नेपाल पत्रकार महासङ्घ इलाम शाखाका पूर्वअध्यक्ष सटेन्द्र जवेगु बताउनुहुन्छ ।

जिल्लामा पर्याप्त र स्तरीय कभर्ड हल नभएकै कारण हालैको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा इलामका कराँते, उसु, टेबलटेनिस लगायतका खेलाडीले राम्रो तयारी गर्न नसकेको निर्माण समितिले जनाएको छ । सदरमुकामको सानो कभर्ड हल सबै खेलका लागि पर्याप्त र स्तरीय नभएकाले बरबोटेमा कभर्डहल निर्माण गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष जितबहादुर राईले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर