Aamsanchar

सालक दिवस मनाइँदै

Author Image
शुक्रवार, फागुन ६, २०७३

काठमाडौँ,

सालक संरक्षणमा जनचेतना फैलाउने उद्देश्यले नेपालमा पनि सरोकारवाला निकायको संयोजनमा शनिबार सालक दिवस मनाइने भएको छ ।

लोपोन्मुख प्रजातिको सालक प्रजाति माथि देखिएको खतरालाई मध्यनजर गर्दै सन् २०१२ देखि आइयुसिएनको सालक विज्ञ समूहले ‘विश्व सालक दिवस’ को सुरुवात गरेको हो । विश्व सालक दिवस हरेक वर्ष फेब्रुअरी महिनाको तेस्रो शनिबारका दिन मनाइन्छ ।

नेपालमा भने सालक दिवस हालसम्म गैरसरकारीस्तरमा मात्र यदाकदा मनाइने गरिएको छ । नेपालमा सालकका सम्बन्धमा अनुसन्धानरत संस्था ‘साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान केन्द्र’ को आयोजनामा भोलि सरोकारावाला निकायका विज्ञसँग छलफल गरी दिवस मनाइने तयारी भएको सो संस्थाले जनाएको छ ।

दिवस सालक संरक्षणकर्मी एकजुट भएर किसानको साथी समेत भनिने सालकको बारेमा विश्वव्यापी संरक्षण जनचेतना फैलाउने महत्वपूर्ण अवसर भएको केन्द्रका अध्यक्ष तुलसी लक्ष्मी सुवालले बताउनुभयो ।

पूरै शरीर खपटाले ढाकिएको सालक स्तनधारी प्राणी हो । नेपालमा दुई प्रजाति–कालो सालक र तामे सालक पाइन्छन् । वन तथा भू–संरक्षण मन्त्रालयको सहकार्य तथा विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ्) र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमा केन्द्रले यसै वर्ष गरेको पहिलो राष्ट्रिय सालक सर्वेक्षणको नतिजाअनुसार नेपालमा ४३ जिल्लामा सालक पाइएको छ ।

एउटा सालकले एक वर्षमा करिब सात करोड किरा र धमिरा खाने गरेको विभिन्न अध्ययनले पत्ता लगाएका छन् । खेतबारीका हानिकारक र अनावश्यक किरा धमिरा खाएर सन्तुलन कायम गर्ने भएकाले सालकलाई किसानको साथी पनि भनिन्छ । सालक संसारमै सबैभन्दा धेरै चोरी सिकारी हुने स्तनधारीमध्ये एक जनावर हो । मासु, छाला र खपटाका लागि हरेक वर्षमा हजारौँ सालक मारिन्छन् । सालकको मासु मिठो हुने र खपटा औषधि हुन्छ भन्ने अन्धविश्वासले यो अत्याधिक चोरी सिकारीको चपेटामा परेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर